राजु तामाङ, बागमती-सर्लाहीको बागमती नगरपालिकामा बाटेको धुप बनाउने तालिम सूरू भएको छ ।
शुक्रबारबाट बागमती नगरपालिका-११, मा रहेको बोटे समुदायका २५ जना महिलाहरुलाई १० दिने बाटेको धुप बनाउने तालिम सुरु गरिएको हो । नेपाल सरकार पुर्वाधार बिकास मन्त्रालय सडक बिभाग कमला-ढल्केबर-पथलैया सडक योजना (पूर्वी खण्ड) लट-३ को आर्थिक सहयोगमा गोडारी महिला समुदायका सदस्यहरुलाई (आईपिडिपी) आदिवासी जनजाति बिकास योजना कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएकाे हाे ।

तालिम पछि लक्षित महिलाहरूलाई आर्थिक आयआर्जनमा टेवा पुग्ने अपेक्षा गरिएकाे परामर्शदाता सामाजिक विकास विज्ञ गौरी प्रसाद शर्माले जानकारी दिए । यस सडक निर्माण संस्थाले जनजाति बिकास योजना अन्तर्गत गत जेष्ठ ९ गते चतुर्भूजेश्वर मन्दिर परिसर सुखेपोखरीमा र बैशाख १० गते जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा १ दिने नि:शुल्क आँखा जाँच शिविर सञ्चालन गरेकाे थियाे ।

हाल सर्लाहीमा पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरोन्नति कार्य तिव्र रुपमा भैरहेको छ । सडक क्षेत्रका दायाँबायाँ रहेको रुख कटान भैसकेका छन भने बिजुलीका तारपोल सार्ने काम चलिरहेको छ । त्यस्तै खानेपानीका पाइप बिस्तारको काम सँगसँगै मठ, मन्दिर, चौतारा, प्रतीक्षालय सार्ने तथा निर्माण गर्ने कार्य भैरहेको आयाेजनाले जनाएकाे हाे ।

