Friday, April 10, 2026

बर्खा लागेपछि त्रासमा बस्छन् बागमती किनारका बासिन्दा

ताजा / भरखरै प्राप्त

सर्लाही(सर्लाहीको उत्तरमा चुरे सिरानी हालेको सर्लाहीको पश्चिममा रौतहटसँगको सिमाना बागमती नदीले छुट्टाएको छ।चुरेको खोच छिचोल्दै निस्कने बागमती बहावले वर्षाको समयमा नदी किनारका गाउँको उठिबास लगाउने गरेको छ खोलामा बाढी आउँदा कैयौँ पटक थातथलो छाडेर भाग्नुपरेको अनुभव यहाँका स्थानीयको मानसपटलमा आज पनि ताजै छ।

सर्लाहीको बसवरिया गाउँपालिका–२ मानपुरका ६५ वर्षीय रामसेवक महतोले प्रत्येक बर्खामा यहाँ बाढी आउने भन्दै मनसुन सुरु भएसँगै बाढीको त्रास बढ्न थालेको बताए। ‘वर्षा सुरु भएपछि रातभरि राम्रोसँग निन्द्रा लाग्दैन’, उनले भने, ‘गत वर्ष खोलाले दुईरतीन स्थानमा ड्याम फुटायो । पानी गाउँमा पस्न थालेपछि भागेर ज्यान जोगाएका थियौँ।’ आकाश गड्याङगुडुङ गर्न थालेपछि पशुचौपाया खोलेर गाउँतिर लाग्ने गरेको उनले अनुभव सुनाए।

गत वर्ष बागमतीमा आएको बाढीले बसवरियाको मानपुर क्षेत्र, रामनगर गाउँपालिका र बलरा नगरपालिकाको पश्चिम दक्षिण क्षेत्र प्रभावित भएको थियो। वर्षाको भेल गाउँ र खेतमा पसेपछि स्थानीय विस्थापित भएका रामनगर–१ का वडाध्यक्ष दिनेश यादवले बताए । जिल्लाको दक्षिण क्षेत्रमा पुगेपछि बागमतीसँग मिसिने अन्य सहायक नदीले स्थानीयलाई दुःख दिने गरेको उनको भनाइ छ।

रामनगर–१ छर्की टोलका विश्वनाथ मुखियाले गत वर्ष बागमती नदी गाउँ पस्दा एक साता बढीसम्म डुबानमा परेको जानकारी दिए । उनले भने, ‘फुसको छानो र खर लिपेर भित्ता बनाइएको घर बाढीले बगाइदिएपछि विस्थापित भएका थियौँ।’ उनलाई गत वर्षको दुःख सकिए पनि यस वर्ष उस्तै सास्ती बेहोर्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ।

‘चुनावका बेला भोट माग्न आउने नेताको अनुहार देख्न नपाएको धेरै भयो, यो वर्षको बर्खामा बाढीले कति वितण्डा बच्चाउने हो भन्ने चिन्ता लाग्छ’, उनले गुनासो पोखे।

चुरेको काखमा बागमती खुम्चिएर बगेको भए पनि जति जति दक्षिण गयो उति फैलिँदै गएको छ । नेपाल छाडेर भारत प्रवेश गर्ने स्थानसम्म पुग्दा बागमतीले आफ्नो क्षेत्र फैलाएर झन्डै तीन किलोमिटरभन्दा बढी फराकिलो बनाएको छ । “बागमतीमा आएको वर्षाको भेल खेलाबाटभन्दा बढी खेत र बस्ती हुँदै बग्ने गर्छ”, बलरा–१ का हरिशरण कापरले भने । बागमतीको बाढीले उनको गत वर्ष खाने अन्नसमेत बगाएर लगेको थियो।

स्थानीय सरकारले समयमा बाढी रोकथामका लागि प्रभावकारी तयारी नगर्दा बर्सेनि सास्ती हुने गरेको उनको भनाइ छ । विपद् व्यवस्थापनका नाममा समस्या भइसकेपछि राहत वितरण गर्नुभन्दा समयमै  क्षति न्यूनीकरणका उपायबारे पहल गर्नुपर्नेमा उनले जोड दिए। खोलाले खोल्नसक्ने क्षेत्रमा बाँधको निर्माण तथा मर्मत, सम्भावित जोखिमको आङ्कलन र पूर्व तयारी गर्ने हो भने यस क्षेत्रका नागरिकले सधैँ बिचल्ली हुन नपर्ने उनको भनाइ छ।

विपद् पूर्व तयारी गरिरहेको स्थानीय तहको दाबी
विपद् पूर्व तयारीमा स्थानीय पालिकाले सरोकार भएका निकायसँग छलफल गरी क्षति न्यूनीकरणको प्रयास थालिएको बताएका छन् । नागरिकको जिउधनको रक्षालाई पालिकाले पहिलो प्राथमिकतामा राखेको स्थानीयले जनप्रतिनिधिले बताएका हुन्।

बलरा नगरपालिकाका प्रमुख रामा शङ्करप्रसाद कुशवाहाले सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगको सहकार्यमा उद्धार स्वयंसेवक तालिम सञ्चालन गरिएको बताए। विपद्का समयमा स्थानीय युवा परिचालन गर्न सकिनेगरी सुरक्षाकर्मीलाई तालिम प्रदान गरिएको उनको भनाइ छ।

‘बाढी, डुबान तथा आगलागीका घटनामा स्थानीय युवा अगाडि हुन्छन्’, प्रमुख कुशवाहाले भने, ‘उनीहरूलाई हामीले सामान्य आत्मरक्षा र जिउधनको सुरक्षा अपनाउन सकिने उपायका बारेमा जानकारी दिनसके मात्र ठुलो जनधनको क्षति रोक्न सक्छौँ । सोहीअनुरूप सुरक्षा निकायसँग समन्वय गरेर तालिम प्रदान गरिरहेका छौँ।’

गत वर्ष असारमा बागमतीमा आएको बाढीले जिल्लाका बलरा नगरपालिका, रामनगर, धन्कौल तथा बसवरिया गाउँपालिकाका अधिकांश वडा प्रभावित बनेका थिए। डुबानले यस क्षेत्रमा, खानेपानीको समस्या तथा शैक्षिक संस्था हप्तौँसम्म सञ्चालन हुननसकेको स्थानीय स्थानीय सञ्चारकर्मी जितेश यादवले बताए।

नेपालबाट ठुलो क्षेत्रमा फैलिएर गएको बागमती नदीलाई भारतले सीमा क्षेत्रबाटै दुवैतर्फ ड्याम कसेर नियन्त्रण गरेको छ। जसले गर्दा स्वतन्त्र ढङ्गले पानी बग्न नपाउँदा वर्षाको बाढी नेपालतर्फ फर्कने गरेको हो। भारत सरकारले सीमा क्षेत्रमा निर्माण गरेको एसएसबी रोडका कारण चुरेबाट सुरु भएका खहरेले अवरुद्ध हुँदै नेपाली भूमिमा क्षति गरिरहेको स्थानीयको गुनासो छ। रासस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles