हरिवन–नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक इन्जिनियर कुलमान घिसिङलाई सर्लाहीको हरिवनमा भव्य नागरिक अभिनन्दन गरिने भएको छ ।
पर्सि यही जेठ २८ गते बुधबार हरिवन नगरपालिका स्थित सरस्वती पार्टी प्यालेसमा एक कार्यक्रमका बिच पूर्व प्रबन्ध निर्देशक घिसिङलाई सम्मान गर्न लागिएको हो । उज्यालो नेपालका अभियन्ताको रुपमा परिचित घिसिङको योगदानको कदर गर्दै भव्य नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरेको मूल आयोजक समितिका अध्यक्ष धनबहादुर मिक्चनले जानकारी दिए ।
सोमबार(आज) कार्यक्रम स्थलमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मिक्चनले नागरिकको स्वत स्फूर्त सहभागितामा कार्यक्रम सम्पन्न गरिने बताए । ‘‘नेपाल विद्युत प्राधिकरणको विगत र घिसिङ प्रबन्ध निर्देशक हुँदाको अवस्थाको हामी भुक्त भोगी हौँ ।’’ उनले भने, ‘‘प्राधिकरणलाई विगतमा पनि र वर्तमानमा पनि घिसिङको अत्यन्त आवश्यक छ । त्यस कारण उहाँको योगदानको नागरिक तहबाट उच्च कदर गर्ने तयारी गरेका हो ।’’
यस कार्यक्रम नागरिक स्तरबाट आयोजना गरिएको भन्दै पार्टी पङ्क्तिमा विभक्त हुन जरुरी नभएको मिक्चनले बताए । कार्यक्रम, मूल आयोजकको अध्यक्ष आफू रहेपनि, प्रचारप्रसार, मञ्च व्यवस्थापन, अतिथिसत्कार, आर्थिक सहयोग सङ्कलन, कार्यक्रम व्यवस्थापन, लगायतका कार्यमा सबैको हातेमालो रहेको उनले स्पष्ट पारे । बुधबार दिउसो हरिवन बजार चोकबाट घिसिङलाई ठुलो सङ्ख्यामा नागरिक समुहको उपस्थिति सहित पैदल कार्यक्रम स्थल सम्म पु¥याईने जानकारी दिए ।
कार्यक्रम आयोजनामा स्थानीय उद्योगी व्यापारी, नागरिक समाजका अगुवा, विभिन्न राजनीतिक दलका नेताहरू समेतको साथ रहेको आयोजकले जनाएको छ । देशले भोगेको चरम लोडसेडिङ अन्त्य गरेर आफूलाई अब्बल सावित गरेका प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक घिसिङलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले कार्यकाल सकिनु ४ महिना अगिनै बर्खास्त गरेको थियो ।

