मलङ्गवा–सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २६ वर्षीय अरविन्द कुमार पण्डितको हत्या घटनामा प्रेमिका र प्रेमिकाका आफन्त सहित ६ जना पक्राउ परेका छन् ।
सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन आयोजना गरी घटना सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले प्रेम सम्बन्धकै कारण अरविन्दको हत्या भएको पुष्टि गरे । अनुसन्धानको क्रममा प्रेमिका सर्लाहीको ईश्वरपुर नगरपालिका–६, चिरान टोल निवासी २५ वर्षकी नाजिमा खातुन सहित ६ जना मिलेर गत बैशाख २८ गते अरविन्दको हत्या गरेको देखिएको उनका भनाई छ ।
अरविन्दको हत्यामा संलग्न सर्लाहीको ईश्वरपुर नगरपालिका–६, चिरान टोल निवासी प्रेमिका नाजिमा खातुन, उनको श्रीमान २९ वर्षका मोस्तकिम अन्सारी, सोही ठाउँका ४३ वर्षका मोहम्मद हुसेन मोमिन, ४० वर्षका सुयब अन्सारी, २५ वर्षका कोनुर आलम अन्सारी र ५४ वर्षका सलाउद्दिन अन्सारीलाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो । उनीहरू सबै जना नातेदार रहेको प्रहरीले उल्लेख गरेको छ ।
घटना यसरी भएको थियो
प्रहरीका अनुसार नाजिमा खातुत विवाहिता महिला हुन । उनको तीन सन्तान छन । नाजिमा सँग अरविन्द केही समय यता प्रेम सम्बन्धमा रहेका थिए । दुवै जना १९ चैत २०८१ को राती देखी बेपत्ता भएको थिए । त्यस पछि नाजिमाका श्रीमान मोस्तकिम अन्सारीले चैत २६ गते श्रीमती हराएको र अरविन्द सँग भागेको आशङ्का सहित इलाका प्रहरी कार्यालय ईश्वरपुरमा निवेदन दिएका थिए ।
सोधपुछको क्रममा अरविन्द र नाजिमा भागेर भारतको मुम्बई पुगेको खुलेको थियो । त्यसपछि २० बैशाख २०८२ मा उनीहरूलाई अरविन्दको बुवाले फकाएर नेपाल ल्याएका थिए । त्यस पछि गाउँका भद्रभलाद्मी समेतको छलफलले नाजिमालाई श्रीमान सँगै रहने गरी जिम्मा लगाइएको थियो । त्यसपछि पनि उनीहरूको बिचमा आउजाउ कायम रहेको प्रहरीले जनाएको छ ।
त्यस पछि नाजिमाका श्रीमानले योजना बनाई गत बैशाख २८ गते नाजिमाले अरविन्दलाई ईश्वरपुर नगरपालिका–८, फुलजोर मन्दिर नजिकै भेट्न बोलाएको पाइएको जिल्ला प्रहरीका एसपी खड्काले जानकार दिए । अरविन्द र नाजिमा खेतको बाटो हुँदै खोला तर्फ जाँदै गर्दा नाजिमाको आफन्तले पिछा गरेको र बिहानको समयमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको उनले बताए ।
‘‘त्यस पछि सव सोही स्थानमा लहरीको बोट र पातपतिङ्गरले छोपेर राखेको पाइयो ।’’ प्रहरी उपरीक्षक खड्काले भने, ‘‘त्यसपछि फेरी बैशाख २९ गते राती ९ बजेको समयमा अभियुक्तहरू गएर लास निकाली ५०० मिटर दूरीमा रहेका उखु बारीमा फालेको र ३० गते खेतमा गएका मानिसले सडेको अवस्थामा सव देखेपछि प्रहरीलाई खवर गरेका हुन् ।’’
निर्मम ढंगले हत्या गरेको अवस्थामा फेला परेका अरविन्दको सव दाजु अशोक कुमार पण्डितले सनाखत गरेका थिए । सवको प्रकृति हेर्दा शरीरको विभिन्न भाग तथा गुप्ताङ्गमा समेत छतविछत अवस्थामा फेला परेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

