बागमती–सर्लाहीको बागमती नगरपालिकामा पोषण लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार बागमती नगरपालिकाका विभिन्न स्थानमा पोषण लेखाजोखा कार्यक्रम आयोजना गरिएको नगर पोषण संयोजक सन्तबहादुर विश्वकर्माले जानकारी दिए । ६ देखी ५९ महिना सम्मका बालबालिका र सुनौलो १००० दिन कार्यक्रम अन्तरगत गर्भवती र सुत्केरी महिलाहरूको पोषण परीक्षण गरिएको हो ।

नेपाल सरकारको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रम अन्तरगत सञ्चालन गरिएको परीक्षण शिविरको नगरपालिकाकी कार्यवाहक उपमेयर रूपा बम्जनले उद्घाटन गरिन । कार्यवाहक उपमेयर बम्जनले बागमती नगरपालिका–१२, स्थित स्वास्थ्य चौकीमा उपस्थित बालबालिका र सुत्केरी तथा गर्भवती महिलाहरूको पाखुरा, उचाई र वजन लिएर कार्यक्रमको सुरु गरेकी थिइन् ।

जीवनका लागि पोषण कार्यक्रमका साझेदार संस्था हेलेन केलेर इन्टरनेशनल र स्थानीय आयोजक आरआरपिके सँग नगरको सहकार्यमा पोषण परीक्षण शिविर सञ्चालन भएको हो । शिविरमा ५ देखी ५९ महिनाका ५१७ जना बालबालिका र सुनौलो १००० दिनका १९७ जना गर्भवती र सुत्केरी महिलाहरूले पोषण परीक्षण गराएका नगर पोषण संयोजक विश्वकर्माले बताए ।

कार्यक्रममा नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद उपाध्याय, महिला विकास अधिकृत शास्ता ढुंगेल, स्वास्थ्य सहसंयोजक आनन्दमोहन झा, पदम बहादुर रायमाझी लगायतको सहभागिता रहेको थियो ।

