बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित बागमती किनारमा विपत् प्रतिकार्यका लागि सामुदायिक पूर्व अभ्यास सम्पन्न गरिएको छ ।
सोमबार बागमती नगरपालिका–१२, बागमती नदी किनारमा बाढी तथा डुबान सम्बन्धी विपत् प्रतिकार्यका लागि सामुदायिक पूर्व अभ्यास सम्पन्न गरिएको हो । प्लान इन्टरनेसनल नेपाल तथा डिप्रोस्क नेपालको रणनीतिक साझेदारी तथा ग्रामीण विकास केन्द्र (RDC) नेपाल सँगको समन्वयमा पूर्व अभ्यास सम्पन्न भएको हो ।
बागमती नगरपालिकाको विशेष सहयोग तथा सहकार्यमा सम्पन्न यस कार्यक्रममा RRPK लगायत सर्लाही, सिरहा र सप्तरीका अन्य सङ्घ संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । रेड क्रस सोसाइटी उपशाखा राजघाट सर्लाही, नेपाली सेना, इलाका प्रहरी कार्यालय कर्मैया र स्काउट नेपालको विषेश सहयोग रहेको यस कार्यक्रममा बागमती नगरपालिकाका सरोकारवाला शाखाप्रमुख, स्थानीय, स्वास्थ्यकर्मी, विद्यार्थी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
पूर्व अभ्यास कार्यक्रममा बागमती खोलामा जलसतह वृद्धि भई नदी तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बाढी तथा डुबानको जोखिममा परेको सम्बन्धी सूचना प्रवाह, नगरपालिका अन्तरगतको विपद् व्यवस्थापन समितिको तयारी, सुरक्षाकर्मी लगायतको उद्धार, रेडक्रस लगायत स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको सम्युक्त उपचार सेवा प्रवाह लगायतको अभ्यास गरिएको थियो । यस कार्यमा स्थानीयले समेत आयोजकलाई सघाएका थिए ।

यस्तै विपद प्रभावित र त्यस क्षेत्रमा देखिन सक्ने जोखिम, प्रभावितहरूको व्यवस्थापन, विवरण सङ्कलन तथा राहत वितरण सँगै पुनःस्थापन कार्यको समेत ‘‘सिमुलेसन’’ अभ्यास गरिएको आयोजक संस्थाकी ज्याेति फुयालले जानकारी दिइन । यस प्रकारको कार्यले जोखिम क्षेत्रमा रहेका स्थानीयलाई भोलिको दिनमा विपद् आइपरे सुरक्षित रहन तथा प्रभावितहरूको उद्धार र राहतमा सहयोग गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बागमती नगरपालिकाका विभिन्न विद्यालयका छात्रछात्रा, शिक्षक लगायतको सहभागिता रहेको थियो । आयोजक संस्थाले अभ्यास कार्यक्रममा सहभागि स्थानीयलाई हाइजिन किट प्याकेज समेत उपलब्ध गराएको छ । बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण कुमार लामाको प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको हो ।



