हरिवन– सर्लाहीको हरिवन नगरपालिकामा तीन दिने सर्प पहिचान र उद्धार सम्बन्धी तालिम सम्पन्न भएको छ ।
आईतबार हरिवन नगरपालिकाको सभाहलमा तीन दिने तालिमको एक औपचारिक कार्यक्रमका विच समापन गरिएको हो । हरिवन नगरपालिका वन तथा वातावरण शाखाको आयोजनामा तालिम सञ्चालन भएको थियो । तालिमको नगरका मेयर रमेश बुढाथोकी(कमल)को प्रमुख आतिथ्यतामा समापन गरिएको आयोजक शाखाले जनाएको हो ।
गर्मी बढ्दै जादा तराईका जिल्लामा विषालु सर्पको बिगबिगी बढ्ने गरेको छ । सर्प प्राकृतिक सन्तुलनमा अपरिहार्य जीव हो । त्यसैले सर्प र मानव सम्बन्ध व्यवस्थापनमा टेवा पुर्याउने उद्देश्य सहित तालिम आयोजना गरेको पालिकाले जनाएको छ । हाम्रो गाउँ घरमा निस्कने सबै सर्प विषालु नहुने र सबैले नटोक्ने भएकाले सर्प देख्ने बित्तिकै मारिहाल्ने प्रवृत्ति छाड्नु पर्ने सर्प विज्ञहरूको भनाई छ ।
अर्को तर्फ सर्पले आफूलाई असुरक्षा महसुस गरे मात्र मानिसलाई आक्रमण गर्ने भएकोले त्यस्ता मानवीय गतिविधि बन्द गर्न सके सर्प डसाइका घटना कम हुने प्रशिक्षणमा सहभागीहरूको भनाइ थियो । घर आसपासमा हुने विषालु सर्पको आउजाउ रोक्न घर वरपर नियमित सरसफाइ गर्न, सर्प देखी हाले त्यसको उद्धार गरी प्राकृतिक वनमा लगेर छाड्न र सर्पले टोकी हाले अलमल नगरी नजिकैको सर्पदंश उपचार केन्द्र पुग्न समेत तालिममा प्रशिक्षण प्रदान गरिएको थियो ।
अहिले पनि सर्पले डसेका विमारीलाई झारफुक गर्ने अलमल गर्ने र समयमै उपचार केन्द्र न लैजाने गर्दा घाइतेको ज्यानै जाने घटना हुने गरेको छ । सर्पले टोकेर भन्दा पनि समयमै उपचार नपाएर घाइते ज्यान जाने गरेकोले यसको नियन्त्रणको लागि समाजमा सचेतना वृद्धि गर्नुपर्ने कार्यक्रममा सहभागीहरूको धारणा थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय हरिवन, सशस्त्र प्रहरी वेश क्याम्प हरिवन, डिभिजन वन कार्यालय लालबन्दी, सव डिभिजन वन कार्यालय जानकीनगर, सामुदायिक वनका पदाधिकारी र हरिवन नगर पालिकाका नगर प्रहरी तथा पदाधिकारीहरू समेत सहभागी भएका थिए । तीन दिनको तालिममा सर्प उद्धार अनुभवी महिमा पौडेल र सुजन भुसालले सहजिकरण गरेका नगरको वन तथा वातावरण शाखाले जनाएको छ ।


