बागमती–सर्लाहीको बागमती नगरपालिकाले आगामी आर्थिक वर्षको लागि एक अर्व तीन करोड २६ लाख ९ हजार ३७६ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
मङ्गलबार बागमती नगरपालिकाको सभाहलमा आयोजित दोस्रो नगर सभाको सातौँ अधिवेशनमा नगरकी कार्यवाहक उपमेयर रूपा बोम्जनले उक्त बजेट पेश गरेकी हुन । नगरको कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रम तयार पारिएको नगरका कार्यवाहक मेयर कृष्ण कुमार लामाले जानकारी दिए ।
यस पालिकाको आगामी आर्थिक २०८२÷०८३ को लागि कुल बजेट मध्य चालु तर्फ व्यय १० करोड ४६ लाख, पुँजीगत तथा कार्यक्रम तर्फ व्यय ७० करोड ५० लाख ९ हजार ३७६ रुपैयाँ, सशर्त अनुदान तर्फ २१ करोड ४३ लाख, विषेश अनुदान तर्फ ८७ लाख अनुमान गरिएको कार्यवाहक उपमेयर बोम्जनले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।
अनुमानित खर्चको श्रोत नेपाल सरकार अनुदान, राजश्व बाँडफाँड, प्रदेश सरकार अनुदान, आन्तरिक आय तथा नगर विकास कोष र निजी क्षेत्र गैर सरकारी संस्थाहरू अनुमान गरिएको उनले बताइन । कृषि क्षेत्र तर्फ नगर पालिकाले यस वर्ष यहाँ उत्पादन हुने अन्नको भण्डार भवन निर्माणलाई प्राथमिकता दिएको जनाएको छ ।
यस नगर भित्र उत्पादन भएका तरकारी सङ्कलनको दिगो व्यवस्थापनको लागि सखुवनीमा संरचना निर्माणको लागि २ करोड ८० लाख बजेट विनियोजन गरेको सभामा प्रस्तुत गरिएको छ । नगरमा रहेका ३५ वढी धार्मिक स्थल र नगरले निर्माण गरिरहेको बागमती माछापोखरी (भरत ताल)लाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी तयार गरिएको कार्यक्रम उपमेयर बोम्जनले सभामा समक्ष प्रस्तुत गरिन ।
नगरपालिकाले अस्तित्वमा रहेका र लोपोन्मुख तथा प्रचलित भाषा संस्कृति संरक्षणको लागि समेत कार्यक्रम तयार गरी सभाबाट अनुमोदन गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रतीक भण्डारीले जानकारी दिए ।

