काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफ्रिकन राष्ट्र मरिससविरुद्ध लगातार दोस्रो खेलमा जित हात पार्दा तनावपूर्ण बनेको खेलमा तीन खेलाडीले रातो कार्ड पाएका छन् ।
दशरथ रंगशालामा सुजल श्रेष्ठको एक मात्र गोलमा १० खेलाडीमा समेटिएको नेपालले ९ खेलाडीमा झरेको मरिससलाई १-० ले हरायो ।
सुजलले खेलको १०औं मिनेटमै टिमलाई अग्रता दिलाएका थिए । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार मरिससका खेलाडीले पन्च गरेर गोल हुनबाट जोगाए । सोही बललाई नेपालका आशिष लामाले दिएको पासमा पुजन उपरकोटीले ब्याक फ्लिक गर्दै सुजललाई पास मिलाइदिएका थिए ।
लगत्तै मरिससले बराबरी गर्ने अवसर पाएपनि सफल भएन । नेपालका दिनेश राजवंशीले लिन्सले ब्रेसलाई फाउल गरेपछि पाएको पेनाल्टी नेपालका गोलकिपर किरण चेम्जोङले बचाए । १३औं मिनेटमा मरिससका कप्तान एन्डी सोफीको पेनाल्टी प्रहार नेपालका कप्तान चेम्जोङले दाया डाइभ गर्दै बचाएका थिए । मंगलबारको खेलको म्यान अफ दि म्याच चेम्जोङ नै बने ।