बागमती–पूर्व पश्चिम राजमार्ग स्थित सर्लाहीको बागमतीमा सुकुम्बासीहरू आन्दोलित भएका छन् ।

शुक्रबार बागमती नगरपालिका–१२, स्थित पुतली चोकमा जम्मा भएका सुकुमबासीले प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध नारावाजी सहित र्याली, प्रदर्शन र कोणसभा गरेका हुन् । बागमती नगरपालिका र आसपासका अन्य पालिकाबाट समेत जम्मा भएका ऐलानी, पर्ती, बन क्षेत्र र सार्वजनिक जमिनमा बसोवास गर्ने तथा भोगचलन गर्ने परिवार आन्दोलनमा सहभागि भएका थिए । आन्दोलनमा सहभागीहरुले ‘उठिवास हैन, व्यवस्थापन गर, गरिव नागरिकलाई पनि बाच्न दे सरकार, जग्गा सरकारको जनता कसको ?, सुकुम्बासी र अव्यवस्थित विस्थापितको लागि निकालेको सूचना खारेज गर’, लगायतको नारा लेखिएको प्लेकार्ड व्यानर समेत प्रदर्शन गरेका थिए ।

बालेन्द्र शाह नेतृत्व सरकारले देश भरी नै सुकुम्बासीलाई व्यवस्थापन गर्ने भन्दै हाल बसोवास गरिरहेको स्थानबाट हटाउन सुरु गरेको छ । सोही क्रममा यस क्षेत्रमा पनि बर्षौ देखी बसोवास गर्दै आएको आफूहरुलाइ सरकारले उठिवास लगाउन लागेको आन्दोलनमा सहभागीहरूको भनाई थियो । सरकारको यस निर्णय विरुद्ध आफूहरू निरन्तर सङ्घर्षमा रहेको र राज्य आतङ्क बन्द नभए सम्म आन्दोलन गरिरहने बागमती नगरपालिका–४, निवासी मनोज वाइबाले बताए ।

भारी वर्षातका बिच पुतली चोकबाट सुरु भएको र्याली बागमती पुल हुँदै बीर गोर्खाली चोकमा आएर कोण सभामा परिणत भएको थियो । सभालाई नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, राष्ट्रिय भूमि अधिकार मञ्च मधेश प्रदेश अध्यक्ष मदन विश्वकर्मा लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेता श्रेष्ठले जमिन सरकारको भए, जनताको कसको रु भनेर प्रश्न समेत गरे ।

नागरिक तहमा सरकारको रबैयाले त्रास र चिन्ताको अवस्था सृजना भएको भन्दै व्यवस्थापनको नाममा सरकार सुकुम्बासी प्रति तानाशाही बनेको नेता श्रेष्ठको आरोप छ । तीनै सुकुम्बासी नागरिकको मत पाएर गठन भएको बहुमतको सरकारले सुकुम्बासी व्यवस्थापनमा जालझेल गर्न नपाउने वक्ताहरूको भनाई थियो । यस बागमती नगरपालिकामा मात्र पालिकाले सङ्कलन गरेको विवरण अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको सङ्ख्या ५ हजार ७९८ परिवार छन् ।


