मलङ्गवा–जिल्लाका विभिन्न कार्यालयमा सेवाग्राहीलाई दुख दिएको भन्दै प्रहरीले ९ जना बिचौलियालाई पक्राउ गरेको छ ।
आइतबार सर्लाही प्रहरीले मलङ्गवा नगरपालिका–९, मलङ्गवावा ट्रायल सेन्टर र मलङ्गवा–३, मालपोत कार्यालय परिसरबाट गरी ९ जना बिचौलियालाई निणन्त्रणमा लिएको हो । उनीहरूले सेवाग्राहीहरू सँग अतिरिक्त रकम माग गरेको गुनासो पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा मलङ्गवा नगरपालिका–६, बस्ने २७ वर्षका जय प्रकाश साह, मलङ्गवा–८, बस्ने २० वर्षका रबि साह, हरिपुर्वा नगरपालिका–६, बस्ने ४० वर्षका प्रमोद कुमार यादव, मलङ्गवा नगरपालिका–१, बस्ने ५८ वर्षका नन्द किशोर यादव, ब्रह्मपुरी गाउँपालिका–७, बस्ने ४५ वर्षका नागेन्द्र कुमार यादव, चन्द्रनगर गाउँपालिका–१, का ४५ वर्षका रामविनय यादव, कविलासी नगरपालिका–१, का ३२ वर्षका रञ्जन कुमार ठाकुर, चक्रघट्ट गाउँपालिका–२, का ४० वर्षका प्रमोद साह र ईश्वरपुर नगरपालिका–५, बस्ने ४१ वर्षका योगेन्द्र महतो रहेका छन् ।
उनीहरूलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको हो । उनीहरूले सरकारी कामकाज प्रभावित पार्ने गरी कार्य गरिरहेको फेला परेको प्रहरीले जनाएको छ ।
यस पहिलानै नापी र मालपोत कार्यालय हरिवनमा बिचौलियालाई कार्यालय परिसरमा प्रवेश निषेध गरेपछि सेवाप्रवाह प्रभावित भएको थियो ।

