लालबन्दी-सर्लाहीको लालबन्दीमा सुरु भएको ‘प्रथम लालबन्दी मेयर गोल्डकप २०८२’को उद्घाटन खेलमा न्यु त्रियुगा स्पोट्र्स क्लब विजयी भएको छ ।
प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा न्यु त्रियुगा स्पोट्र्स क्लब, सप्तरीले नेपाल फुटबल क्लब, रौतहटलाई पराजित गरेको हो । खेलमा ३–० गोल अन्तरले न्यु त्रियुगा स्पोट्र्स क्लब, सप्तरी विजयी भएको छ । खेलको पाँचौ मिनेटमा सुरेश पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाउनु भयो । त्यस पछि नेपाल फुटबल क्लब, रौतहट दबाबमा परेको थियो । दोस्रो हाफको २६ आँै र ३५ औँ मिनेटमा सुनिल सिंहले टिमको लागि व्यक्तिगत दुई गोल गर्नुभयो ।
त्यसपछि रौतहटको खेलमा फर्कने प्रयास असफल भएको हो । खेलको सुरु देखिनै सप्तरी रौतहटमा माथि हावी भएको थियो । न्यु त्रियुगा स्पोट्र्स क्लब, सप्तरीका लागि व्यक्तिगत दुई गोल गर्नु भएका खेलाडी सुनिल सिंहले म्यान आफ द म्याचको उपाधि पाउनु भयो । जित सँगै न्यु त्रियुगा स्पोट्र्स क्लबले माघ २० गते हुने पहिलो क्वाटर फाइनल खेलमा भरतपुर फुटबल क्लब चितवन सँगको भेट पक्का गरेको छ ।
प्रतियोगिता आयोजक जीवेश्वर युवा क्लबको खेल मैदान लालबन्दी नगरपालिका–१, नवलपुर स्थित फुटबल रङ्गशालामा सुरु भएको हो । माघ २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारीले आज औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको आयोजक क्लबका अध्यक्ष दिपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगितामा कोशी प्रदेशका दुई, बागमती प्रदेशका दुई र मधेश प्रदेशका ८ गरी १२ टिम सहभागि भएका छन् ।
प्रतियोगिताको विजेता टोलीले ३ लाख र उपविजेताले एक लाख ५० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा ‘म्यान आफ द म्याच’, सहित अन्य ५ विधामा खेलाडीहरूलाई पुरस्कृत गरिने छ । खेल र खेलाडीको प्रबद्र्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको यस प्रतियोगिताको अनुमानित कुल लागत २४ लाख ३६ हजार ३४० रुपैयाँ रहेको क्लबका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रतियोगिताले यस क्षेत्रको खेल पर्यटनमा ठुलो टेवा पुग्ने अपेक्षा राखेको लालबन्दी नगरपालिका–१७, वडाध्यक्ष तथा नगर खेलकुद विकास समिति संयोजक विष्णु अधिकारीले बताउनु भयो ।
प्रतियोगिताको सह आयोजकमा सर्लाही फुटबल सङ्घ र मुख्य प्रायोजकमा लालबन्दी नगरपालिका रहेका छन् । यस प्रतियोगिताको लागि लालबन्दी नगरपालिका तर्फबाट ९ लाख र वडा कार्यालयबाट ५ लाख तथा अन्य सहयोगी सङ्घ संस्था, उद्योगी व्यवसायीबाट थप आर्थिक सङ्कलन गरिएको क्लबका अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
प्रतियोगितामा आयोजक सर्लाहीको जीवेश्वर युवा क्लब, पर्साको वीरगन्ज यूनाईटेड, बाराको रतनपुर यूनाईटेड, रौतहटको नेपाल खेलकुद क्लब, महोत्तरीको ब्याग्ङखाडी युवा क्लब, धनुषाको धनुषा–११, सिरहाको गोलबजार स्पोट्र्स क्लब, सप्तरीको न्यु त्रियुगा स्पोट्र्स क्लब, उदयपुरको गाईघाट युवा क्लब, सुनसरीको इनर्वा फुटबल क्लब, चितवनको भरतपुर फुटबल क्लब र हेटौँडाको मकवानपुर जिल्ला फुटबल सङ्घ सहभागि छन् ।
प्रतियोगिता अन्तरगत शनिबारको खेलमा धनुषा–११, धनुषा र रतनपुर यूथ क्लब, बारा बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

