बागमती–सर्लाहीको बागमतीमा यहि माघ १० गतेबाट सुरु हुन लागेको दोस्रो जिरायत कपको सम्पूर्ण तयारी पुरा भएको छ ।
बिहीबार बागमती नगरपालिका–४, स्थित ओम युवा क्लबको खेल मैदानमा पत्रकार सम्मेलन गरी तयारी पुरा भएको आयोजकले जनाएको हो । माघ २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष प्रदिप आलेले जानकारी दिए । प्रतियोगितामा सर्लाही, महोत्तरी, रौतहट र बाराका फुटबल क्लबहरूले भाग लिएका छन् ।
स्थानीय स्तरमा रहेका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य सहित गत वर्षबाट सुरु भएको प्रतियोगिताका विजेताले ७५ हजार शिल्ड र मेडल तथा उपविजेता टोलीले ३० हजार शिल्ड र मेडल प्राप्त गर्ने भएका छन् । ५ लाख अनुमानित लागत तोकिएको यस प्रतियोगिता सञ्चालनका लागि स्थानीय खेलप्रेमी, उद्योगी व्यवसायी, देश विदेशमा रहेका सहयोगी दाताहरूको आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको हो ।
बागमती नगरपालिका तथा वडा कार्यलयले खेल सामाग्री उपलब्ध गराएको क्लबका सचिव मनोज रसाइलीले बताए । शनिबार प्रतियोगिताको उद्घाटन खेलमा आश्रय निर्माण सेवा प्रा.लि. अलटोकी रौतहट र युनाइटेड युवा क्लब बर्दिबास बिच प्रतिस्पर्धा हुने छ ।
यस्तै प्रतियोगितामा टुटेश्वर युवा क्लब महोत्तरी, छहारी युवा क्लब बागमती, सयपत्री सामुदायिक युवा केन्द्र हात्तीलेट, मिलनचोक युवा क्लब बागमती, रतनपुर युनाइटेड युथ क्लब बारा, लालभित्ती युवा क्लब हरिवन, आइडेल को.एड.एकेडेमी लालबन्दी, मङ्गलपुर युवा क्लब चन्द्रपुर, ओम युवा क्लब बागमती, समाजसेवा युवा क्लब बागमती, पञ्चधुरा सामुदायिक सेवा केन्द्र महोत्तरी, द अनुप सेवा समाज बरहथवा, सुनौलो बिहानी क्लब बागमती र हरिपुर युनाइटेड हरिपुर बिच प्रतिस्पर्धा हुने छ ।
राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने नारा सहित सञ्चालन हुनलागेको प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ ।

