बागमती–अत्यधिक चिसो बढेपछि सर्लाहीको बागमती नगरपालिकाले चार दिनलाई विद्यालय बन्द गरेको छ ।
गत शुक्रबार देखी लगातार बढेको चिसोले बालबालिका कठ्याङ्ग्रिन थालेको भन्दै बागमती नगर शिक्षा शाखाले भोलिबाट चार दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । यो सँगै नगर मातहतका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द हुने भएका छन् । सर्लाही सहित तराइको जिल्लामा ५ दिन देखी लगातार बाक्लो कुहिरो र हुस्सु लागेर जाडो बढेको छ ।
धेरै चिसो भएकोले क्रिसमस पर्व र नगरको क्यालेन्डर बिदामा भोलि एक दिनको बिदा थपेर पहिलो चरणमा चार दिनको लागि जाडो बिदा दिएको नगर शिक्षा शाखा प्रमुख मीन प्रसाद उपाध्यायले जानकारी दिए । जाडो निरन्तर रहे बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर नगरले बिदा लम्ब्याउने उनको भनाई छ ।
शिक्षा विकास तथा समन्वय इकाइले पनि मङ्गलबार एक सूचना जारी गर्दै केही दिन विद्यालय बन्द गर्न आग्रह गरेको थियो । अत्यधिक चिसोले बालबालिकाको पठनपाठनमा असर गरिरहेको र उनीहरूको स्वास्थ्यमा थप असर पर्नसक्ने जोखिमलाई ध्यानमा राखेर केही दिन विद्यालय बन्द गर्न आग्रह गरिएको निमित्त इकाई प्रमुख रामवृक्ष महतोले बताए ।
चिसोले विशेष गरी बालबालिका, वृद्धवृद्धा, श्वासप्रस्वास, निमोनिया लगायतको समस्या भएका विमारी, दीर्घ रोगी र विपन्न समुहलाई धेरै प्रभाव पारेको छ । यस्तो समयमा शरीरलाई न्यानो बनाई राख्न बेलाबेलामा तातो झोलिलो पदार्थको सेवन गर्न, न्यानो कपडा लगाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।
बिहानको समयमा तुसारो पर्ने गरेकोले अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन लालबन्दी नगर अस्पतालका चिकित्सक राम विश्वास रायले आग्रह गरे ।

