बागमती–सर्लाहीको बागमती नगरपालिकामा निशुल्क आँखा शिविर सुरु भएको छ ।
शिविर अन्तरगत शनिबार बागमती नगरपालिका–१०, शंकरपुरमा पहिलो दिनको शिविर सम्पन्न भएको हो । स्वास्थ्य चौकी शंकरपुरमा सम्पन्न शिविरमा १३७ जनाको आँखा परीक्षण गरिएको थियो । त्यस मध्य २९ जनामा मोतिया बिन्दुको समस्या फेला परेको बागमती नगर स्वास्थ्य शाखा प्रमुख पदम बहादुर रायमाझीले जानकारी दिए ।
आजबाट सुरु भएको शिविर असोज २९ गते सम्म सञ्चालन हुने बागमती नगरपालिका स्वास्थ्य शाखाले जनाएको हो । नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र बागमती र बागमती नगरपालिका स्वास्थ्य शाखाको सम्युक्त आयोजनामा शिविर सुरुभएको छ ।
शिविर कार्यक्रम अन्तरगत २६ गते आइतबार बागमती माध्यामिक विद्यालय चन्द्रपुर–१, गोपालकुटी प्रांगण र जन ज्योति मावी जियाजोर बागमती नगरपालिका–४ नयाँवस्ती, २७ गते सोमबार गौरीशङ्कर प्रावि बागमती नगरपालिका–३ जिरायत र बागमती नगरपालिका–५ राजघाट वडा कार्यालय खाल्टे बजारमा आँखाको स्कृनिङ गरिने भएको छ ।
यस्तै २८ गते मङ्गलबार बागमती नगरपालिका–७, जानकी जनता प्रावी मिथिलापुर र बागमती नगरपालिका–९, स्थित जनजागृति प्रावि लालबन्दी टोल प्राङ्गणमा र अन्तिम दिन असोज २९ गते बागमती नगरपालिका–१२, कर्मैया स्वास्थ्य चौकी प्राङ्गणमा शिविर सञ्चालन हुने नगर स्वास्थ्य शाखा प्रमुख रायमाझीले जानकारी दिए ।
शिविरमा फेला परेका मोतिया बिन्दुका विमारीहरुलाई बागमती नगरपालिका–१२, मा विधिवत उद्घाटन गर्न लागेको तिलगंगा सर्जिकल आँखा केन्द्र बागमतीमै असोज २९ र ३० गते निशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको हो । यो सँगै तिलगङ्गा सर्जिकल आँखा केन्द्र बागमतीको समेत ३० असोजमा उद्घाटन गरिने शिविर व्यवस्थापक ओम बहादुर कार्कीले बताए ।
आँखाको समस्या समाधानको लागी तिलगङ्गा आँखा अस्पतालको सेवा आफ्नै गाउँ ठाउँमै पाइने भएपछि बागमती वासी दङ्ग परेका छन् ।

