हरिवन–नेकपा माओवादी केन्द्रका नेता इन्द्र पाठकको ‘हृदयघात’बाट निधन भएको छ ।
हरिवन नगरपालिका–८, निवासी नेता पाठकको शुक्रबार ६३ वर्षको उमेरमा ‘हृदयघात’बाट निधन भएको हाे । उनलाई बिहान ‘मर्निङ वाक’बाट फर्किएपछि ‘हृदयघात’ भएको परिवारले बताएका छन् । लगतै उनलाई नजिकैको नमुना अस्पताल पुर्याइएको थियो । अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका पार्टीका हरिवन नगर कमिटी सचिव गौरी महतोले जानकारी दिए ।
श्रोतका अनुसार नेता पाठकलाई केही समय पहिलाबाट मुटुको ‘भेन ब्लक’ सम्बन्धी समस्या थियो । तर, उपचार पछि निको भएको उनले शुभचिन्तकहरू सँग बताउने गरेका थिए । सोही समस्याका कारण उनलाई ‘हार्टअट्याक’ भएको अनुमान गरिएको छ ।
नेता पाठक नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सर्लाहीका पूर्व सदस्य र पार्टीको हरिवन नगर कमिटी संस्थापक इन्चार्ज समेत हुन । पाठकको निधनले पार्टी र समाजले एक कर्मठ योद्धा गुमाएको स्थानीयको भनाई छ । पाठकलाई आधुनिक हरिवन बजार क्षेत्रका परिकल्पनाकारको रुपमा समेत मान्ने गरिएको छ ।
बजार क्षेत्रको व्यवस्थापनमा पाठको ठुलो योगदान रहेको एक स्थानीय व्यापारीले बताए । उनको शव अन्तिम श्रद्धाञ्जलीको लागि आजै दिउसो केही समय बागमती नदि किनारमा राखिने र अन्तिम संस्कार गरिने पार्टीका हरिवन नगर अध्यक्ष अर्जुन पन्तले सामाजिक सञ्जालमा मार्फत जानकारी गराएका छन ।
नेता पाठकको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको जिल्ला इन्चार्ज अच्युतम काफ्लेको भनाई छ ।

