बागमती–सर्लाहीको बागमतीमा दुई मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु हुनुका साथै ४ जना घाइते भएका छन ।
सोमबार बागमती नगरपालिका–१२, बागमती पुल –भरत ताल सडक खण्डमा दुई मोटरसाइकल दुर्घटनामा परेको हो । घटनामा मधेश प्रदेश ०३–०३१ प ४९२३ नम्बरको मोटरसाइकलमा सवार बारा कोल्बी नगरपालिका–९, बस्ने ४२ वर्षकी इनरवती चौधरीको मृत्यु भएको छ । सोही घटनामा मोटरसाइकल चालक चौधरीको छोराहरू ३२ वर्षका दीपक चौधरी र २८ वर्षका रामरूप चौधरी समेत घाइते हुनुभएको छ ।
दुर्घटनामा परेर गम्भिर घाइते हुनुभएको इनरवतीलाई तत्काल उपचारको लागि चन्द्रनिगाहापुर पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । पूर्व पश्चिम राजमार्गबाट भरत ताल तर्फ जाँदै गर्नुभएका उहाँहरु सवार मोटरसाइकललाई सोही दिशाबाट आँउदै गरेको ज ११ प ५५०५ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ठक्कर दिने मोटरसाइकलका चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–९, बस्ने २० वर्षका विशाल महतो र सोही मोटरसाइकलमा सवार भारतको मुजफरपुर जिल्लाको मिनापुर ग्राम पञ्चायत १० बस्ने २० वर्षका प्रेम कुमार भगत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकार दिनुभयो ।
उहाँहरू दुवै जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि इलाका प्रहरी कार्यालय कर्मैयाको हिरासतमा राखिएको छ । दुवै मोटरसाइकल समेत नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

