बरहथवा-सर्लाहीमा भएको दुई घटनामा एक बालिका सहित दुई जनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् ।
आइतबार बरहथवा र हरिवनमा भएको छुट्टाछुट्टै घटनामा परी दुईजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार बरहथवा नगरपालिका–१६ मा लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । कबिलासी नगरपालिका–१, पिपरियाका ७० वर्षीय मोहम्मद जमिरको खोलाले बगाएर मृत्यु भएको हो । लखन्देही खोला तरेर खेतमा जाँदै गरेका उनलाई खोलाले बगाएको प्रहरीको अनुमान छ ।
खोलामा बेपत्ता भएका जमिरको खोजी गर्ने क्रममा बरहथवा नगरपालिका–१७ रहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकाको सीमा लखन्देखी खोला किनारमा मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । शनिबार राति चुरे भेगमा भएको वर्षाका कारण लखन्देही खोलामा बिहानैदेखि बाढी आएको थियो ।
यसैबिच, हरिवन नगरपालिकास्थित सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार हरिवन नगरपालिका–१० सुखेपोखरीमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार सोही स्थानकी १४ वर्षीया दिपिका बुढाथोकीको मृत्यु भएको हो । तीव्र गतिमा रहेको प्रदेश ०२–०३–०१९ प ५४०८ नम्बरको मोटरसाइकलले बालिका सवार साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते बालिकालाई उपचारको लागी रौतहटको चपुर पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा परेर अनियन्त्रित भएको मोटरसाइकल चालक समेत गम्भीर घाइते भएका छन् । घाइते चालक बागमती नगरपालिका–१ का १६ वर्षीय सविन भुजेलको टाउको र आँखामा चोट लागेको र वीरगञ्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए ।