लालबन्दी–सर्लाहीको लालबन्दी स्थित एक विद्यालयका छात्रछात्राहरूलाई विद्यालय ब्याग वितरण गरिएको छ ।
सोमबार लालबन्दी नगरपालिका–३, मन पुरण जनता माध्यामिक विद्यालयका ५० जना छात्रछात्रालाई ब्याग वितरण गरिएको हो । जनज्योति भूतपूर्व विद्यार्थी समाजको सहजिकरणमा संस्थाका आजीवन सदस्य भुवन ध्वज थापाले छात्रछात्रालाई ब्याग सहयोग गरेका हुन । लालबन्दी-३, घर भई डेनमार्कलाई कर्मथलो बनाएका थापाले बुबा धर्मध्वज र आमा मनमायाको सम्झनामा उक्त सामाग्री हस्तान्तरण गरेको बताए ।
ब्याग वितरण कार्यक्रममा बोल्दै समाजसेवी थापाले विद्यालय सुधारको लागि एक लाख दिने बताए । भने, यस विद्यालयबाट एसईईमा सहभागि भएर उत्कृष्ट नतिजा हासिल गर्ने तीन जना छात्रछात्रालाई हरेक वर्ष नगद १५, १० र ५ हजार रुपैयाँ पुरस्कार वितरण गर्ने प्रतिवद्घता व्यक्त गरे । विद्यालय र विद्यार्थीहरूलाई हौसला प्रदान गरेको भन्दै विद्यालय परिवारले सहयोगी थापा प्रति धन्यवाद व्यक्त गरेको छ ।
ब्याग वितरण तथा सहयोग घोषणा कार्यक्रममा लालबन्दी नगरपालिका–३, का वडाध्यक्ष बुद्धदेव चौधरी, संस्थाका अध्यक्ष राज कुमार न्यौपाने, पूर्व अध्यक्ष कृष्ण भण्डारी, नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युतम अधिकारी, संस्थाकी उपाध्यक्ष रमा पौडेल, कोषाध्यक्ष चिरञ्जिवी खतिवडा, संस्थापक रोशन बोहरा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

