हरिवन – सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया नेतृत्वको टोलीले चिनी उद्योगबाट फैलिएको दुर्गन्ध र झिँगा प्रकोपको अनुगमन गरेको छ ।
आइतबार हरिवन स्थित इन्दुशङ्कर चिनी उद्योग आसपासको गाउँनै प्रभावित हुनेगरि फैलिएको दुर्गन्ध र झिँगा प्रकोपको प्रजिअ कडरियाले अनुगमन गर्नु भएको हो । अनुगमन पछि स्थानीयलाई सम्बोधन गर्दै उनले दुर्गन्ध र झिँगा नियन्त्रणका लागि सरोकारवाला पक्षलाई राखेर छलफल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
चिनी उद्योग परिसरमा रहेको अमरावती डिस्टिलरीबाट निस्किएको दुर्गन्धित पानी उद्योगका कर्मचारीले प्रेस मलमा हाल्ने गरेका छन् । यसले गर्दा नजिकैका आधा दर्जन बढि गाउँका स्थानीयको जनजिवन नारकीय बनेको भन्दै स्थानीय आन्दोलित समेत भएका थिए । स्थानीयको गुनासो पछि यस क्षेत्रका सांसद नरेन्द्र साह कलवार समेत अनुगमनमा पुगेका हुन् । सांसद साहले समेत समस्या संसदमै उठाउने आश्वासन दिएका स्थानीय रिता सापकोटाले बताइन् ।
समस्याको विषयमा हरिवन नगरपालिका–८, मा रहेको इन्दुशङ्कर चिनी उद्योग, हरिवन नगरपालिकामा समेत पुगेर स्थानीय महिलाहरूले चैत अन्तिम साता धर्ना दिँदै ज्ञापन पत्रसमेत बुझाएका थिए । प्रमुख जिल्ला अधिकारी कडरियाले मङ्गलबार उद्योग र नगरपालिकाका प्रतिनिधि सँग दुर्गन्ध र झिँगा नियन्त्रणको उपाय अपनाउने बारे छलफल गर्ने बताए । उद्योग र डिस्टिलरी परिसरमा अहिले पनि विभिन्न कच्चा पदार्थ मिसाएर मल बनाउने काम भइरहँदा असाध्य झिँगा लाग्ने र दुर्गन्ध फैलने भइरहेको हरिवन ८ र ११ का स्थानीयको व्यापक गुनासा छ ।

