हरिवन–सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योगबाट फैलिएको दुर्गन्ध नियन्त्रण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् ।
बुधबार हरिवन नगरपालिका–८, स्थित उद्योग परिसरमा जम्मा भएका स्थानीयले उद्योगबाट फैलिएको दुर्गन्ध नियन्त्रण गर्न माग गरे । उद्योग परिसरमा रहेको अमरावती डिस्टिलरी र प्रेस मलबाट सहनै नसक्ने गरी दुर्गन्ध फैलिएको स्थानीयको गुनासो छ । उक्त दुर्गन्धको कारण उद्योग नजिकैका गाउँमा झिँगाको आतङ्क फैलिएको स्थानीय रिता सापकोटाले बताउनु भयो ।
‘‘दुर्गन्धले गाउँमा महामारीको जोखिम बढेको छ ।’’ उहाँले भन्नुभयो, ‘‘आज हामी उद्योगका हाकिमहरूमा हाम्रो घरमा बसेर खान खान निम्तो दिन आएको ।’’ दुर्गन्ध नियन्त्रणका लागि पटक पटक गरेको आग्रहलाई उद्योगले वेवास्ता र हेलचेक्र्याइँ गरेर आम नागरिकको स्वास्थ्य सँग खेलवाड गरेको उहाँले आरोप लगाउनु भयो । उद्योगको उत्तर, पूर्व र पश्चिमको गाउँहरू दुर्गन्धको चपेटामा रहेको स्थानीयको गुनासो छ ।
उद्योगले उखु क्रसिङका क्रममा उत्पादन भएको फोहोरलाई मल बनाएर मोहरमा बदल्न डिस्टिलरीबाट निस्कने फोहोर पानी हाल्ने गरेको छ । मलमा फोहोर पानी छिटेपछि त्यहाँबाट झिँगा निस्कने गरेको स्थानीको कथन छ । यहाँका स्थानीयले यस प्रकारको समस्या लामो समय देखी झेल्दै आएको गुनासो गरे । पटक पटक आन्दोलित स्थानीयलाई उद्योगका प्रतिनिधिले आश्वासन दिने तर समस्या समाधानको पहल नगरे गरेका आन्दोलित स्थानीयको आरोप छ ।
आन्दोलित स्थानीयले अब पनि समस्या समाधान नभए चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिने स्थानीय सुमित्रा दहालको भनाई छ । उद्योगको लापरवाहीको कारण आसपासको गाउँ दुर्गन्धपुर बनेकोले समस्या तत्काल समाधान गर्न हिजो ज्ञापन पत्र मार्फत माग गरेका थिए । ज्ञापन पत्र बुझदै उद्योगका प्रतिनिधिले जायज माग सम्बोधनको लागि पहल गरिदिने बताएका थिए ।

