Sunday, March 29, 2026

शैक्षिक खेतबारी: योजना, परिश्रम र सफलताको खेती

ताजा / भरखरै प्राप्त

राज किशोर चौधरी, बागमती 

“सानो छ खेत, सानो छ बारी, सानै छ जहान
नगरी काम, पुग्दैन खान, साँझ र बिहान।।”

नेपाली समाजको जीवन दर्शन र श्रमसंस्कृतिलाई कविवर दैवज्ञराज न्यौपानेले अत्यन्त सरल तर गहिरो भावमा अभिव्यक्त गर्नुभएको छ। यी पंक्तिहरूले मानव जीवन र श्रम बीचको अविच्छिन्न सम्बन्धलाई उजागर गर्छन्।यही जीवन दर्शनलाई शिक्षाको क्षेत्रमा रूपान्तरण गर्दा स्पष्ट हुन्छ—सफलता आकस्मिक होइन, योजना बद्ध परिश्रमको परिणाम हो।

किसानको जीवन चक्रले हामीलाई समय व्यवस्थापन, धैर्य र निरन्तर  प्रयासको महत्त्व सिकाउँछ। बिहानै घाम उदाउने बित्तिकै खेतबारीमा पुग्ने किसान असारको रोपाइँकालागि ब्याड तयार गर्छ। जेठ–असारको प्रचण्ड घाम, साउन–भदौको गोडमेल र मंसिरको भकारी भरिने सन्तोष—यी सबै चरणहरूले श्रम, अनुशासन र लक्ष्यप्रतिको निष्ठालाई स्पष्टरूपमा प्रतिबिम्बित गर्छन्। ठीक त्यसैगरी, शिक्षाक्षेत्र पनि योजनाबद्ध चक्रमा आधारित हुन्छ, जहाँ प्रारम्भिक तयारी, निरन्तर अभ्यास र समयमै मूल्याङ्कनले मात्र अपेक्षित उपलब्धि सुनिश्चित गर्न सक्छ।

वर्तमान सन्दर्भमा विद्यालयहरू वार्षिक परीक्षाको समापन तर्फ उन्मुख छन्।कतिपय विद्यालयहरूमा परीक्षा सम्पन्न भइसकेका छन्भने केहीमा अन्तिम चरणमा छन्। विशेषतः माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) पछि विद्यार्थी, शिक्षक तथा अभिभावक बीच नतिजा प्रतिको उच्च अपेक्षा र उत्सुकता देखिन्छ।तर नतिजा प्रकाशन पछिको समयलाई धेरै जसो विद्यालयले निष्क्रिय अवधिका रूपमा लिने प्रवृत्ति देखिन्छ, जुन दीर्घकालीन शैक्षिक गुणस्तरका लागि उपयुक्त होइन।

वास्तवमा, यही समय आगामी शैक्षिक सत्रको सुदृढ आधार निर्माण गर्ने सबै भन्दा महत्वपूर्ण अवसर हो।यदि यस अवधिलाई योजनाबद्ध, सहभागितामूलक र लक्ष्य केन्द्रित रूपमा उपयोग गर्न सकियो भने शिक्षण–सिकाइ प्रक्रिया अझ प्रभावकारी र परिणाममुखी बन्न सक्छ। किसानले बाली काटिसके पछि पनि खेतलाई अर्को सिजनकालागि तयार गर्ने जसरी, विद्यालयले पनि शैक्षिकसत्रको अन्तराललाई सुधार र तयारीको अवसरका रूपमा लिनु पर्छ।

यस अवधिमा विद्यालयहरूले निम्न कार्यहरूमा ध्यान दिन सक्नेछन्:

१. वार्षिक कार्ययोजना निर्माण
सम्पूर्ण शैक्षिक तथा सह–शैक्षिक कार्यक्रमहरूको स्पष्ट रूपरेखा तयार गरी सरोकारवाला बीच छलफल र परिमार्जन गर्ने।

२. एकाइ तथा पाठयोजना विकास
विषयगत शिक्षकहरूको सहकार्यमा व्यवहारिक र सिकाइ–केन्द्रित योजना निर्माण गर्ने।

३. शैक्षिक सामग्री विकास
शिक्षण–सिकाइ सामग्री (TLM) को निर्माण र प्रभावकारी प्रयोगका लागि कार्यशाला सञ्चालन गर्ने।

४. विद्यालय वातावरण सुधार
कक्षा कोठा व्यवस्थापन, सजावट, विद्यालय बगैँचा तथा बालमैत्री वातावरण निर्माणमा ध्यान दिने।

५. भौतिक संरचना मर्मतसम्भार
कक्षा कोठा, फर्निचर, सरसफाइ तथा अन्य पूर्वाधारहरूको सुधार गर्ने।

६. समिति गठन तथा जिम्मेवारी वितरण
विद्यालय व्यवस्थापन सुदृढ बनाउन विभिन्न समिति गठन गरी स्पष्ट कार्य विभाजन गर्ने।

७. मूल्याङ्कन प्रणाली सुदृढीकरण
मूल्याङ्कनका विधि र उपकरणहरू बारे छलफल तथा कार्यशाला सञ्चालन गर्ने।

८. शिक्षक क्षमता अभिवृद्धि
नवीन शिक्षण प्रविधि र डिजिटल सीपमा शिक्षकहरूको पुनर्ताजगी तालिम सञ्चालन गर्ने।

९. अतिरिक्त शैक्षिक कार्यक्रम योजना
विद्यालय विकासका लागि आवश्यक अन्य कार्यक्रमहरूको पहिचान र कार्यान्वयन गर्ने।

“फलेको हाँगो कहिले छर ननुहि रहेको?
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर,
किसान बनी जहान पाल्ने यो मेरो रहर।।”

यी काव्य पंक्तिहरूले श्रमको मूल्य र विनम्रताको सौन्दर्यलाई एक साथ उजागर गर्छन्।जसरी किसानले समयमै तयारी नगरे उत्पादन सम्भव हुँदैन, त्यसै गरी विद्यालयले पनि समयमै योजना निर्माण नगरे गुणस्तरीय शिक्षा हासिल गर्न कठिन हुन्छ।त्यसैले शैक्षिक सत्रको अन्त्यलाई विश्राम होइन, तयारी र रूपान्तरणको अवसरका रूपमा लिनु आवश्यक छ।

निष्कर्ष

शिक्षा वास्तवमा एक सृजनात्मक खेती हो।
योजना यसको बीउ हो,
परिश्रम यसको सिँचाइ हो,
र उपलब्धि यसको फल हो।

त्यसैले आजको सुव्यवस्थित योजनानै भोलिको सफलताको आधार हो।विद्यालयले निष्क्रिय समयलाई अवसरमा रूपान्तरण गर्न सकेमात्र शिक्षाको यो“शैक्षिक खेतबारी” ले उज्ज्वल भविष्यको समृद्ध फल दिन सक्छ। समयमै सोचौँ, सहकार्य गरौँ र योजनाबद्ध रूपमा अघि बढौँ।

(लेखक चौधरी उदयपुरको त्रियुगा नगरपालिका-९ स्थित श्री अम्बेवर जनता मा. वि. राजाबासका  माध्यमिक तह अंग्रेजी विषयको अध्यापक तथा विद्यालयमा सञ्चालित अंग्रेजी माध्यम (EMI)संयोजक समेत हुन् ।)

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles