हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित वडा कार्यालयले एक जना मेधावी विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेको छ ।
शुक्रबार हरिवन नगरपालिका–५, वडा कार्यालयले एमबिबिएस छात्रवृत्तिमा नाम निकाल्न सफल सोही वडाका २१ वर्षीय अमित कुमार सिंहलाई आइप्याड हस्तान्तरण गरेको हो । सिंहलाई अध्ययन अध्यापनमा सहयोग पुगोस् भन्ने उद्देश्य सहित एक लाख ४० हजार मूल्य बराबरको आइप्याड हस्तान्तरण गरिएको वडाध्यक्ष नागेन्द्र साहले जानकारी दिए ।
यस वडाले अहिले सम्म ८ जना जेहनदार छात्रछात्राहरूलाई प्रोत्साहन सहित सहयोग गरेको छ । वडामा रहेका जेहनदार विद्यार्थीहरूलाई प्रोत्साहन स्वरुप विभिन्न शैक्षिक सामाग्री वितरण गर्ने गरिएको वडाध्यक्ष साहले बताए । भौतिक विकासले मात्र समाजको उन्नति नहुने भएकाले समाजिक विकासको लागि शिक्षा स्वास्थ्य लगायत जनजिविकामा समेत विकास हुनुपर्ने उनको दावी थियो ।

