बरहथवा-प्रतनिधि सभा निर्वाचनका लागि सर्लाही ३ बाट उम्मेदवार बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठ अहिले घरदैलो अभियानमा व्यस्त छन्।
आफू यतिबेला सर्लाही ३ को दक्षिणी क्षेत्रमा घरदैलो अभियानमा व्यस्त रहेको श्रेष्ठले बताए। ‘म अहिले सर्लाही ३ को दक्षिणतिरका गाउँबस्तीमा छु। चुनावको माहोल राम्रो बन्दै गएको छ,’ श्रेष्ठले भने। श्रेष्ठ बिहानदेखि साँझसम्म मतदाता भेटघाट र घरदैलो अभियानमा व्यस्त हुने गरेको उनीसँगै रहेका विद्यार्थी नेता उपदेश यादवले बताए।
पूर्व गृहमन्त्रीसमेत रहेका श्रेष्ठलाई सर्लाही ३ मा रास्वपाका नरेन्द्र साह, एमालेका निर्वतमान सांसद हरि उप्रेती, कांग्रेसका विनोद खनाल, जसपाका जयप्रकाश राय, जनमतका सुनिलप्रसाद गुप्ता लगायतका उम्मेदवारले चुनौति दिँदैछन्। नेकपाका नेता कार्यकर्ता भने सर्लाही ३ मा अन्तिममा श्रेष्ठको प्रतिस्पर्धा रास्वपाका साहसँग हुने दाबी गर्छन्। २०७९ को निर्वाचनमा सर्लाही ३ मा माओवादीबाटै उम्मेदवार बनेका साह अहिले रास्वपामा प्रवेश गरेर उम्मेदवार बनेका हुन्।
१ लाख ३४ हजार ४ सय १६ मतदाता रहेको सर्लाही ३ मा २०७९ को निर्वाचनमा एमाले नेता उप्रेती ३२ हजार ९३८ मत ल्याई विजयी हुँदा साहले ३२ हजार १६८ मत ल्याएका थिए। सर्लाही ३ मा हरिवन र बागमती नगरपालिका तथा चक्रघट्ट गाउँपालिकाको पूरै क्षेत्र पर्छ। त्यसैगरि हरिपुर, बरहथवा र कविलासी नगरपालिका तथा बसबरिया गाउँपालिकाका केही वडा पनि यो क्षेत्रमा पर्छन्।
२०७९ को निर्वाचनमा समानुपातिकतर्फ सर्लाही ३ मा माओवादीले सबैभन्दा धेरै १५ हजार ४ सय ७१ मत प्राप्त गरेको थियो। त्यसपछि क्रमशः एमालेले १५ हजार ६, जसपाले १२ हजार ७९, कांग्रेसले ९ हजार ९ सय ७९, रास्वपाले ६ हजार ९ सय ६२, जनमतको ६ हजार १ सय ३१, तत्कालीन एकीकृत समाजवादीले २ हजार ६ सय ५५ मत ल्याएका थिए।

