Sunday, March 29, 2026

सर्लाहीमा मन्दिरमा पेस्तोल भेटियो, नक्कली ठानेर खेलाउँदा किशोर घाइते

ताजा / भरखरै प्राप्त

मलङ्गवा–सर्लाही सदरमुकाम मलङ्गवामा नक्कली ठानेर खेलाएको पेस्तोलबाट गोली लागेर एक किशोर घाइते भएका छन् ।

बिहीबार दिउसो मलङ्गवा नगरपालिका–४, ढाँका गाउँ बस्ने राम विश्वास रामको १५ वर्षका छोरा आकाश राम पेस्तोलको गोली लागेर घाइते भएका हुन् । रामले घर देखी सय मिटरको दूरीमा रहेको हनुमान मन्दिरको कुनामा रातो कपडाले बेरेर राखेको अवस्थामा पेस्तोल फेला पारेका प्रहरीको भनाई छ । 

सोही पेस्तोल नक्कली भनेर किशोरले चलाएको अवस्थामा लोड भएको एक राउन्ड गोली चलेको र उनको हातको पन्जामा लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । घटना स्थलबाट प्रहरीले एक थान पेस्तोल र पेस्तोलमा अडकिएको अवस्थामा एक थान खोका बरामद गरेको जनाएको छ । 

किशोरलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवामा लगेर उपचार भइरहेको प्रहरीले जनाएको हो । यसरी खुलेआम हतियार फेला परेको घटनाले सुरक्षा चिन्ता बढाएको स्थानीयको भनाई छ । केही दिन पहिला मात्र मलङ्गवा–१०, मा कोठा गरेर बस्ने सिरहा जिल्लाको सुखीपुर नगरपालिका–६, घर भएका भौतिक पूर्वाधार कार्यालय सर्लाहीमा काम गर्ने इन्जिनियर ३६ वर्षका प्रमोद कुमार यादवको अज्ञात समुहको गोली प्रहारबाट हत्या भएको थियो । 

इन्जिनियर हत्या घटना सेलाउन नपाउँदै फेला परेको यस पेस्तोल सँग उक्त घटनाको सम्बन्धमा समेत अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक राईले बताउनु भयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles