लालबन्दी–सर्लाहीको लालबन्दीमा अज्ञात समुहले लघुवित्तको कार्यालयमा लुटपाट गरेको छ ।
बिहीबार दिउसो लालबन्दी नगरपालिका–७, शान्ति टोलमा रहेको छिमेकी लघुवित्तको शाखा कार्यालयमा अज्ञात समुहले लुटपाट गरेको प्रहरीले जनाएको हो । नम्बर नखुलेको दुई वटा मोटरसाइकलमा आएका ४÷५ जनाको समुहले कार्यालयमा प्रवेश गरी हातहतियार देखाएर लुटपाट गरेको कार्यालयका कर्मचारीले बताएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
लुटपाटको क्रममा लुटेरा समुहले प्रहर गरेको चक्कुले लागेर लघुवित्तका कर्मचारी सुवास न्यौपानेको दाहिने पाखुरामा चोट समेत लागेको छ । उहाँ स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि डिस्र्चाज हुनु भएको प्रहरीले जनाएको हो । लुटेरा समुहले धारिलो हतियार र पेस्तोल समेत लिएर आएको कर्मचारीले बताएका प्रहरीको भनाई छ । घटना पछि कर्मचारीहरूलाई कार्यालयमै थुनेर उक्त समुह मोटरसाइकलमै फरार भएको थिए । घटना लगतै उक्त समुहको खोजी तीब्र पारेको प्रहरीले जनाएको हो ।
लुटेरा समुहले दुई थान मोबाइल फोन, कर्मचारीको साथमा भएको दुई हजार र लघुवित्तबाट ऋण लिएको एक सेवाग्राही हरिवन नगरपालिका–१०, बस्ने कल्पना थापाको साथबाट ८५ हजार रुपैयाँ रकम लुटेर लगेको प्रहरीले जनाएको छ । घटना शङ्कास्पद रहेको संकेत गर्दै उहाँले समयमै प्रहरीलाई खवर नगरेको तथा लुटिएका पीडितलाई कार्यालयमा बोलाएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीले बताउनु भयो ।
घटनाको विषयमा सुस्म ढङ्गले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक जोहारीले जानकारी दिनुभयो । उक्त घटनाको समयमा कार्यालयमा तीन जना कर्मचारी रहेका प्रहरीको भनाई छ ।

