मलंगवा-सर्लाहीको मलंगवामा गोली प्रहार गरी पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या भएको छ। आइतबार साझ सदरमुकाम मलंगवा नगरपालिका–१०, मा गोली प्रहार गरी पूर्वाधार विकास कार्यालय मलंगवा कार्यरत इन्जिनियर ३६ वर्षका प्रमोदकुमार यादवको हत्या भएको हो।
अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका इन्जिनियर यादवलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका छन्। यादवको छातीमा गोली लागेको पाहिएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामप्रकाश साहले जानकारी दिए। यादवमाथि भएको गोली प्रहार घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
सिराहा जिल्लाकाे सुखीपुर निवासी यादव कार्यालयनजिकै मलंगवा–१०, मा कोठामा बस्दै आएका थिए। साझ कोठामा भएको वेला कसैले बाहिर बोलाएको र घरको गेटबाहिर पुग्नेबित्तिकै अज्ञात समूहले गोली प्रहार गरेर फरार भएको मृतक यादवको श्रीमती पुनमकुमारी यादवले बताइन्।

