ईश्रपुर–सर्लाहीको ईश्वरपुरमा भएको कार दुर्घटनामा एक युवकको मृत्यु भएको छ । भने, तीन जना घाइते भएका छन् ।
मङ्गलबार बिहान पूर्व पश्चिम राजमार्ग स्थित ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलमा लु ३ च ५४७२ नम्बरको कार दुर्घटना हुँदा कारमा सवार एक युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा रूपन्देही जिल्लाको बुटबल उपमहानगरपालिका–१, बस्ने २७ वर्षका शुभम जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
काँकडभिट्टाबाट बुटवल तर्फ जाँदै गरेको उक्त कार बाँके जंगलको तेस्रो कज्वेमा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनाको जानकारी पाए लगतै पुगेको प्रहरी टोलीले चारै जनालाई उद्धार गरी उपचारको लागि बर्दिवास पुर्याएको थियो । गम्भिर घाइते शुभमको बर्दिबास स्थित शुभस्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले बताए ।
दुर्घटनामा परी घाइते भएका कार चालक रूपन्देही बुटबल उपमहानगरपालिका–१, बस्ने २३ वर्षका साहिल बर्मा, ४८ वर्षका बृजकिशोर बर्मा, ५२ वर्षका सजय जैसवालको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य जैसवालको अवस्था अझै गम्भिर रहेको प्रहरीले जनाएको हो । उनीहरुको टाउको, छाती, ढाड लगायत शरीरको विभिन्न भागमा चोट लागेको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

