Wednesday, February 18, 2026

सर्लाहीमा सवारी दुर्घटनामा २९ जनाको मृत्यु, १९० जना घाइते

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीमा भएको सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा सवारी दुर्घटनामा परी २९ जनाको मृत्यु भएको हो । भने, १९० जना गम्भिर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यस समय अवधिमा साना, ठूला चार पाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख प्रहरी निरीक्षक अशोक साहले जानकारी दिनुभयो ।

दुर्घटनामा ज्यान गुमाउने मध्य अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति छन् । जिल्लाका भित्री सडक खण्डमा दुर्घटना धेरै हुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । सवारी चालक तथा पैदलयात्रीले ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनामा धेरै हुने गरेको भन्दै विद्यालयका बालबालिका, स्थानीय, पैदलयात्रीलाई सहभागि गराएर कार्यालयले दर्जनौँ पटक ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम समेत सञ्चालन गरेको जनाएको छ ।

यस्तै सोही अवधिमा ट्राफिक नियम उलङ्घन गरी चलाएका सवारी कारवाहीबाट ४८ लाख २८ हजार ५०२ रुपैयाँ राजश्व समेत सङ्कलन भएको छ । चालक अनुमति पत्र नभएको, हेलमेट नलगाएका मोटरसाइकल चालक, यात्रा अनुमति पत्र नभएका, क्षमता भन्दा धेरै सामान बोकेका ट्रक, लगायतलाई कारवाही गरिएको प्रहरी निरीक्षक साहले बताउनु भयो । पूर्व पश्चिम राजमार्ग तथा भित्री सडक खण्डमा समेत विभिन्न समयमा चेकजाँच गरी ट्राफिक नियम उल्लङ्घन गरेर चलाएका सवारीलाई कारवाही गरिएको थियो ।

प्रहरीले लामो दूरीका यात्रु बाहक बसमा दुई जना चालक अनिवार्य गरिएको विषयमा समेत कडाइका साथ चेक जाँच गर्ने गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ७ हजार २७ वटा लामो दुरीको यात्रुबाहक बस चेक जाँचका क्रममा २२ वटाले नियम उल्लङ्घन गरेको पाइएपछि कारवाही गरिएको उहाँको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles