चन्द्रनगर–मोटरसाइकलको ठक्करबाट सर्लाहीको चन्द्रनगरमा एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार चन्द्रनगर गाउँपालिका–२, बिर्ताटोलमा भारतीय बिआर ३० एपी ३०३७ नम्बरको मोटरसाइकलले एक महिलालाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते हुनुभएकी चन्द्रनगर–२, बरकुर्वा बस्ने ६५ वर्षकी शान्ति देवी ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
भित्री सडक खण्ड अन्तरगत चन्द्रनगरको बिर्ताटोलबाट बरकुर्वा तर्फ जाँदै गरेको मोटरसाइकलले पैदल यात्री ठाकुरलाई ठक्कर दिएको थियो । दुर्घटनामा पर्नुभएकी ठाकुरको टाउको, निधार र ढाडमा चोटलागेको प्रहरीले जनाएको हो । घाइते उहाँको अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचार पछि थप उपचारको लागि वीरगन्ज रिफर गरिएको थियो । न्युरो अस्पतालमा वीरगञ्जमा उपचारको क्रममा उहाँको मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न सवारी र चालक चन्द्रनगर गाउँपालिका–३, बरकुर्वा बस्ने २० वर्षका विशाल महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

