लालबन्दी–आउदो माघ १६ गतेबाट सर्लाहीको लालबन्दीमा ‘‘प्रथम लालबन्दी मेयर गोल्डकप २०८२’’ आयोजना गरिने भएको छ ।
खेल र खेलाडीको प्रबद्र्धन गर्ने उद्देश्य सहित आयोजना गर्न लागिएको प्रतियोगिताको बारेमा आयोजकले बुधबार पत्रकार सम्मेलन आयोजना गरेको हो । सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर फुटवल रंगशालामा संचालन हुने प्रतियोगिताको फाइनल माघ २७ गते हुने आयोजक जीवेश्वर युवा क्लबका अध्यक्ष दिपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
लालबन्दी नगरपालिका मुख्य आयोजक रहेको यस प्रतियोगिताले स्थानीय स्तरमा खेलाडीको प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको अपेक्षा छ । आयोजकका अनुसार प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले एक लाख ५० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । भने, ‘म्यान आफ द म्याच’, सहित अन्य ५ विधामा खेलाडीहरूलाई पुरस्कृत गरिने अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
लालबन्दी नगरपालिको तर्फबाट थप २ लाख सहित ९ लाख, वडा कार्यालयबाट ५ लाख बजेट प्राप्त भएको तथा अन्य सहयोगी सङ्घ संस्था, उद्योगी व्यवसायीबाट आर्थिक सङ्कलन गरिएको प्रतियोगिताको कुल लागत २४ लाख ३६ हजार ३४० रुपैयाँ अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताबाट यस क्षेत्रको खेल पर्यटनमा समेत ठुलो फाइदा पुग्ने लालबन्दी नगरपालिका–१७, वडाध्यक्ष तथा नगर खेलकुद विकास समिति संयोजक विष्णु अधिकारीले बताए ।
प्रतियोगितामा कोशी प्रदेशका दुई, बागमती प्रदेशका दुई र मधेश प्रदेशका ८ गरी १२ टिम सहभागि हुने भएका छन् । सर्लाहीको जीवेश्वर युवा क्लब, पर्साको वीरगन्ज यूनाईटेड, बाराको रतनपुर यूनाईटेड, रौतहटको नेपाल खेलकुद क्लब, महोत्तरीको ब्याग्ङखाडी युवा क्लब, धनुषाको धनुषा–११, सिरहाको गोलबजार स्पोट्र्स क्लब, सप्तरीको न्यु त्रियुगा स्पोट्र्स क्लब, उदयपुरको गाईघाट युवा क्लब, सुनसरीको इनर्वा फुटबल क्लब, चितवनको भरतपुर फुटबल क्लब र हेटौँडाको मकवानपुर जिल्ला फुटबल सङ्घ सहभागि हुने भएको हो ।
यस प्रतियोगितालाई नगरपालिकाको वार्षिक कार्यक्रम र पात्रोमा समेत समावेश गरेर हरेक वर्ष सञ्चालन गरिने आयोजक क्लबले जनाएको छ । नगरपालिका भित्र रहेका फरक फरक खेल मैदान तथा रंग शालाहरुमा प्रतियोगिता आयोजना हुँदा नगरको खेल क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको लालबन्दी नगरपालिका–१, का वडाध्यक्ष हरि बहादुर भट्टराईले बताउनु भयो ।

