बागमती-फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा फेरी एक पटक राजेन्द्र महतो र महेन्द्र राय यादव आमनेसामने हुने भएका छन् ।
आसन्न निर्वाचन प्रयोजनको लागि भएको मनोनयन दर्तामा दुवै जनाले फेरी एकै क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । नेता महतोले मङ्गलबार राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराए । उनी पार्टीको केन्द्रिय अध्यक्ष समेत हुन । भने, नेता यादवले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।
दुवै नेता पार्टीका कार्यकर्ता सहित उम्मेदवारी दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालयमा परिसरमा पुगेका थियो । उनीहरूको उम्मेदवारी सँगै यस क्षेत्रको चुनावी माहोल समेत निकै रोमान्चक बन्ने स्थानीय राजनीतिज्ञहरूले आँकलन गर्न थालेका छन् । नेता महतो र यादव २०७९ को निर्वाचनमा समेत आमनेसामने भएका थिए ।
उक्त चुनावमा महेन्द्र राय यादवले राजेन्द्र महतोलाई हराएका थिए । पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री समेत रहेका महेन्द्र राय यादवले यस पटक पनि नागरिकको आग्रह र देशलाई विषम परिस्थितिबाट पार लगाउने उद्देश्य सहित उम्मेदवारी दर्ता गराएको प्रतिकृया दिए । भने, पूर्व उपप्रधान मन्त्री समेत रहेका महतोले ५ पटक विभिन्न मन्त्रालय सम्हाली सकेका छन् ।
यस पटक सर्लाही–२ नम्बर क्षेत्रको चुनावी मैदानमा अन्य उम्मेदवारहरू पनि होमिएका छन् । नेपाली काँग्रेसबाट डाक्टर सरोज कुमार, नेकपा एमालेबाट धर्मेन्द्र राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रविन महतो, जनमत पार्टीबाट विपिन यादव यस क्षेत्रमा चुनावी मैदानमा होमिएका छन् । यहाँका अन्य उम्मेदवार भन्दा महतो र यादवको चुनावी प्रतिस्पर्धालाई निकै महत्वका साथ हेरिएको छ ।

