ईश्वरपुर–सर्लाहीको ईश्वरपुरमा विभत्स हत्या पछि गिडेर फालेको अवस्थामा वन पालेको टाउको पनि फेला परेको छ ।
आइतबार दिउसो खोजी गर्ने क्रममा ईश्वरपुर नगरपालिका–२, राईटरखोर निवासी ४७ वर्षका रामईश्वर महतोको टाउको घटना स्थलबाट १०० मिटरको दूरीमा फेला परेको हो । ईश्वरपुर नगरपालिका स्थित सागरनाथ वन परियोजनामा वन पालेको रुपमा कार्यरत महतोको शनिबार घाटी काटेर विभत्स हत्या भएको थियो ।
शनिवार दिउसो ३ बजे तिर परियोजनाको १० नम्बर प्लट जाने बाटोबाट १०० मिटर भित्र झाडीमा महतोको टाउको विनाको शरीर मात्र फेला परेको थियो । लगतै दुई वटा कुकुर सहित धनुषाको लालगढबाट पुगेको प्रहरीको विषेश अनुसन्धान टोलीले महतोको टाउकोको भाग राती अबेर सम्म खोजी गरेको थियो ।
राती अबेर सम्म पनि फेला नपरेपछि स्थगित गरेको खोजी अभियान आज बिहानबाट पुनः सुरु गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो । प्रहरीले घटनामा संलग्नको आशङ्कामा एकजनालाई पक्राउ गरेको भएपनि सार्वजनिक भने गरेको छैन ।
शनिबार बिहानै वनमा रूख काटेको आवाज आएपछि साइकलमा घटना स्थल तर्फ लागेका महतो अबेर सम्म पनि घर नफर्किए पछि आफन्तले खोजी गरेका थिए । सोही क्रममा हिजो दिउसो महतोको विभत्स लास फेला परेको प्रहरीले जनाएको हो । महतोको हत्यापछि स्थानीय त्रसित बनेका ईश्वरपुर नगरपालिका–२, का वडाध्यक्ष सुरेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले शनिबार नै घटना स्थल नजिकैबाट रगत लतपतिएको एक थान बन्चरो समेत बरामद गरेको जनाएको छ ।

