Tuesday, February 17, 2026

लायन्स क्लबको सहयोगमा आँखा उपचार केन्द्रलाई २ करोड बढीको उपकरण हस्तान्तरण

ताजा / भरखरै प्राप्त

लालबन्दी–आँखा उपचार केन्द्र लालबन्दीलाई अन्तराष्ट्रिय संस्था लायन्स क्लब इन्टरनेशनलले २ करोड बढीको आधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ ।

बुधबार एक औपचारिक कार्यक्रमका बिच मधेश प्रदेश सरकारका मुख्य मन्त्री कृष्ण प्रसाद यादवले केन्द्रलाई २ करोड २० लाख २१ हजार ८६० रुपैयाँ बराबरको अत्याधुनिक उपकरण हस्तान्तरण गर्नु भयो । स्तरोन्नतिको लागि लालबन्दी नगरपालिका–५, जरुवा पानीमा सञ्चालन भइरहेको सामुदायिक परोपकार आँखा उपचार केन्द्रलाई उपकरण हस्तान्तरण गरिएको लायन्स क्लब इन्टरनेशनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले बताउनु भयो ।

क्लबले आँखाको अप्रेसन गर्न मिल्ने फेको सर्जरी मेसिन सहित माइक्रोस्कोप, ल्याम्प लगायतका उपकरण प्रदान गरेको छ । केन्द्रको स्तरोन्नति पछि यहाँका नागरिकले काठमाडौँ स्थित तिलगङ्गा आँखा उपचार केन्द्र बराबरको सुविधा प्राप्त गर्ने क्लबका डाइरेक्टर बुर्लाकोटीको भनाई छ । आँखामा भएका सम्पूर्ण समस्याको उपचार अब केन्द्रबाटै गर्न सकिने उहाँले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको सुविधा सम्पन्न भवनमा उपकरण जडान गरी केन्द्रले सेवा सुचारु गर्न लागेको छ । यसै कार्यक्रमका बिच मुख्य मन्त्री यादवले रिबन काटेर केन्द्रको उद्घाटन समेत गर्नु भयो । फेको मेसिनबाट शल्यक्रिया सहितको उपचार सुरु गर्ने योजना रहेकोले जतिसक्दो चाँडो चिकित्सक र प्राविधिकको व्यवस्थापन गरी दिन लालबन्दी रेडक्रसका सभापति ध्रुव प्रसाद घिमिरेले प्रदेश सरकार समक्ष अनुरोध गर्नुभयो ।

यता मुख्यमन्त्री यादवले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएको विकृति सुधारका लागि कडा कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जङ्गीलाल रायलाई निर्देशन दिनुभयो । उहाँले नागरिकको नैसर्गिक अधिकारको रुपमा रहेको स्वास्थ्य क्षेत्रमा रहेका लापरवाही नियन्त्रण गर्नुपर्नेमा जोड समेत दिनुभयो । आँखा उपचार केन्द्रलाई अत्याधुनिक उपकरण दिएर मधेश प्रदेशकै स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै मुख्यमन्त्री यादवले लायन्स क्लब प्रति आभार समेत प्रकट गर्नु भयो ।

कार्यक्रममा बोल्नुहुँदै प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रायले आँखा उपचार केन्द्र लालबन्दीका लागि दक्ष प्राविधिक प्रदेश सरकारको तर्फबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले लालबन्दीमा ट्रमा सेन्टर स्थापना गर्ने योजना सहित आवश्यक बजेट विनियोजन गर्ने घोषणा गर्नुभयो । मधेश प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री बेची लुङ्गेलीले उपकरणको सही सदुपयोग आँखा रोगीले नियमित सेवा पाउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

केन्द्रले सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली तथा भारत बिहारका समेत गरी करिव १० लाख विमारीलाई आँखा उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको लायन्स क्लब लालबन्दीका पूर्व अध्यक्ष राजकुमार न्यौपानेले बताउनु भयो । उपकरण हस्तान्तरण कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, पूर्व स्वास्थ्य राज्यमन्त्री राम सिंह, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष विनोदकुमार शर्मालगायतको आतिथ्यता रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles