Wednesday, February 18, 2026

सर्लाहीको १२ पालिकाका ४ लाख बढिलाई हात्तीपाइले विरुद्धको औषधी ख्वाउँदै

ताजा / भरखरै प्राप्त

मलङ्गवा–सर्लाहीको १२ पालिकामा हात्तीपाइले रोग विरुद्धको आम औषधी खुवाइने भएको छ ।

स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जिल्लाको १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिरहेको पाइए पछि विषेश अभियान मार्फत औषधी खुवाउन थालिएको हो । विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जिल्लाका २० पालिकालाई दुई भागमा विभाजन गरेर गत असोजमा हात्तीपाइले रोग सङ्क्रमणको परीक्षण गरेको थियो । परीक्षणको क्रम रोग फैलिने क्रम जारी रहेपछि औषधी सेवन गराउन लागेको हो ।

परीक्षण टोलीले जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, गोडैता नगरपालिका, बिष्णु गाउँपालिका, कौडेना गाउँपालिका, मलङ्गवा नगरपालिका, ब्रहम्परी गाउँपालिका, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकालाई एउटा समुहमा राखेर परीक्षण गरेको हो । टोलीका अनुसार बलरा, चक्रघट्ट र ब्रम्हपुरीबाट लिएको तीन सय नमुना मध्य २८ जनामा हात्तीपाइले सङ्क्रमण पाइएको थियो ।

त्यस मध्य पनि राती १२ बजे लिएको २८ जनाको नमुनामा ५ जना सकृय सङ्क्रमित फेला परेका स्वास्थ्य कार्यालय मलङ्गवाका हात्तीपाइले रोग नियन्त्रण शाखा संयोजक मनोज झाले जानकारी दिनुभयो । जिल्लाका उत्तरी क्षेत्रका बाँकी ८ पालिकामा भने हात्तीपाइले रोग फैलन क्रम रोकिएको पाइएको छ । ‘‘हात्तीपाइलेका नयाँ विमारी फेला परेका पालिकामा विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक टोलीकै उपस्थितमा आम औषधी खुवाउने काम भइरहको छ,’’ संयोजक झाले भन्नुभयो ।

‘‘अभियान अन्तरगत सुरुमा पालिकाका स्वास्थ्यकर्मी र स्वयम सेविकाहरुलाई औषधी खुवाउने तौरतरिका बारे प्रशिक्षण दिने, त्यसपछि उहाँहरूलाई घरघरमै पठाएर औषधी खुवाउन लगाउने गरिएको छ । मलङ्गवा नगरपालिकामा माघ ८ गतेबाट औषधी खुवाउन सुरु गरिसकिएको र अन्य पालिकाहरूमा तालिम चलिरहेको छ ।’’ स्वास्थ्य कार्यालय प्रमुख झाले भन्नुभयो । हात्तीपाइले विरुद्धको औषधी २ वर्ष देखी माथि उमेरका सबैलाई सेवन गराउने उहाँले बताउनु भयो ।

१२ पालिकाका ८० प्रतिशतले हुन आउने ४ लाख ३० हजार ९ सय ४१ जनालाई आम औषधी ख्वाउने लक्ष्य राखिएको छ । औषधी सेवन कार्यक्रम अन्तरगत बुधबार हात्तीपाइले रोग उन्मूलन सम्बन्धी अन्तरकृया समेत सम्पन्न गरिएको थियो । हात्तीपाइले रोगले शरीरमा गम्भिर क्षति पुर्याउने भएपनि समयमै र नियमित औषधी सेवनले यसको रोकथाम गर्न सकिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंका डाक्टर शशि बडेलले जानकारी दिनुभयो ।

हात्तीपाइले रोगका कारण दीर्घकालीन अपाङ्गता निम्तिन सक्ने जोखिम रहेको र यसका विषयमा आउने अनेकन भ्रमका पछाडि नलागी घरघरमा आउने स्वास्थ्य स्वयमसेविकाहरु सँग औषधी लिएर सेवन गर्न समेत उहाँले आग्रह गर्नु भयो । ‘‘हामीले केही समय पहिला सर्लाहीका २० पालिकालाई उत्तरी र दक्षिणी गरी दुई भागमा विभाजन गरेर नमुना सङ्कलन गर्ने र परीक्षण गर्ने काम गरेका थियो ।’’ डाक्टर बडेलले भन्नुभयो, ‘‘त्यस क्रममा जिल्लाको दक्षिणी क्षेत्रका १२ पालिकामा १ दशमलव ८ प्रतिशत सम्म सङ्क्रमण फैलने क्रम पाइयो । त्यसपछि पालिकाहरूमा औषधी खुवाउने अभियान सुरु गरिएको छ ।’’

डाक्टर बडेलका अनुसार एक प्रतिशत भन्दा धेरैमा सङ्क्रमण फेला पर्नु जोखिम पूर्ण अवस्था मानिन्छ । हात्तीपाइले (फाईलेरिया) रोग क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले मानिसमा सार्ने गर्दछ । यो मानिसलाई नराम्रो सँग शारीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट सङ्क्रमण भए पछि लाग्छ । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गराउने चिकित्सकहरूको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles