लालबन्दी–सर्लाही प्रहरीले जिल्लाको चुरे क्षेत्रमा रोपेको अवैध गाजा खेती नष्ट गरेको छ ।
प्रहरीका अनुसार सोमबार लालबन्दी नगरपालिका वडा नम्बर १४ र १५ को विभिन्न स्थानमा रोपको ठुलो क्षेत्रफलको गाजा खेती प्रहरीले फडानी गरेको हो । उक्त स्थानको सिर कालिन्जोर, सिरुडाडाँ, ब्लोन टोल क्षेत्रमा भएको १४ बिगाहा गाजा प्रहरी टोलीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले बताए ।
प्रवक्ता राईका अनुसार ४० जनाको संख्यामा पुगेका प्रहरी टोलीले करिव दुई लाख बोट गाजा फाँडेका छन् । यस क्षेत्रमा सजिलै धेरै आम्दानी हुने लोभमा अवैध रुपमा ठुलो क्षेत्रफलमा गाजा खेती हुने गरेको पाइएको छ । यहाँ प्रहरीले मंसिर देखिनै अवैध गाजा खेती फडानी अभियान चलाएको छ । तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा मात्र ९४.५ बिगाहा गाजा खेती नष्ट गरिसकेको छ ।

