बागमती– नेपाल तामाङ घेदुङ बागमती नगर समितिले सोनाम ल्होसारको अवसरमा भव्य कार्यक्रम आयोजना गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलन आयोजना गरी यही माघ ६ गते सोनाम ल्होसारको अवसरमा तामाङ घेदुङ बागमतीले भव्य कार्यक्रम आयोजना गर्ने जनाएको हो । हरेक वर्ष जस्तै सोनाम ल्होसारको अवसरमा बागमती नगरपालिका स्थित भरत ताल परिसरमा तामाङ घेदुङले बृहत् सांस्कृतिक कार्यक्रम गर्ने कार्यक्रम संयोजक संजय भ्लोन(एसके)ले बताए ।
यस वर्ष माघ ५ गते सोनाम ल्होसार परेको छ । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसार यस वर्ष सर्प वर्ग(सा पुख्री)लाई बिदाई गर्दै घोडा वर्ग(ता ल्हो)लाई स्वागत गरेर मनाइदै छ । तामाङ समुदायको भाषा, लिपि, भेषभुषा, संस्कार संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्य सहित नेपाल तामाङ घेदुङ बागमती नगर समितिले हरेक वर्ष सोनाम ल्होसार पर्व मनाउँदै आएको हो ।
ल्होसारको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने नेपाल तामाङ घेदुङ बागमती नगर अध्यक्ष रोशन लामाले जानकारी दिए । कार्यक्रममा कलाकारहरू फुल कुमार बोम्जन, विशाल काल्तान, सुमिना लो, रेश्मा बम्जन, उर्गेन दोङ, मोडलहरू रिया लामा, याङ्गी दाेङ लगायतले प्रस्तुती राख्ने उनले बताए ।
११ लाख १५ हजार लागत अनुमान गरिएको यस कार्यक्रममा तामाङ समुदायका उद्योगी व्यवसायी लगायत यस समुदायलाई माया गर्ने व्यक्तित्वहरुबाट सहयोग सङ्कलन गरिने आयोजकले जनाएको छ । यस्ता कार्यक्रमले यस समुदायको इतिहासको खोज, संरक्षण सँगै भाषा र संस्कृति संरक्षणमा टेवा पुग्ने नेपाल तामाङ घेदुङ बागमती नगर समिति सचिव चन्द्र बहादुर जिम्बाको भनाई छ ।
यस समुदायको लिपि लगायत इतिहासमा देखिएको विविधतालाई समेत एकरूपता ल्याउने कार्यमा यस सङ्गठनले काम गरिएको उनले बताए । सोनाम ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउने तामाङ समुदायले यस दिन आफू भन्दा ठूला परिवारका अग्रजहरूबाट सेतो अछेताको टिका र आशीर्वाद ग्रहण गरेर तथा मीठोमसिनो खाएर मनाउने परम्परा रहेको घेदुङ अध्यक्ष लामाले बताए ।
घेदुङ बागमतीले यश वर्ष कार्यक्रम स्थलमा तामाङ समुदायकाे परिकार भेषभुषा प्रदर्शनी समेत गर्ने जनाएकाे छ ।

