लालबन्दी–जिल्लाको उत्तरी क्षेत्र चुरे खोचमा अबैध रुपमा लगाएको गाँजाको बोट नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले लालबन्दी नगरपालिका–१४, स्थित विभिन्न स्थानमा लगाएको गाजाको बोट नष्ट गरेको हो । प्रहरी टोलीले ३५ बिगाहा क्षेत्रफलमा लगाएको एक लाख ८० हजार बढी गाँजाको बोट फडानी गरेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
चुरे क्षेत्रमा अबैध रुपमा गाँजा खेती हुने गरेको सूचना पछि केही दिन देखी प्रहरीले फडानी तथा नष्ट अभियान नै संचालन गरिरहेको छ । गाँजा फडानीको लागि ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको नेतृत्वमा ९८ जना नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षा वेस हरिवनका सशस्त्र प्रहरी निरीक्षक निरोज केसीको नेतृत्वमा ३० जना गरी एक सय २८ जना सुरक्षाकर्मी उक्त स्थानमा पुगेका थिए ।
सुरक्षाकर्मीको टोलीले लालबन्दी नगरपालिका–१४, स्थित प्रताटोल, हात्तीसुढे, १५ बिगाहा, ९ बिगाहा, मत्स्य दोभान शिर लगाएत स्थानमा रहेको गाँजा खेती नष्ट गरेको हो । यस क्षेत्रमा विगत केही वर्ष देखी लुकाई छिपाई ठुलो क्षेत्रमा गाँजा खेती हुदै आएको छ । प्रहरीले हरेक वर्ष केही ठाउँको गाँजा नष्ट गर्ने गरेको भएपनि पूर्णरुपमा नियन्त्रणमा भने आउन सकेको छैन् ।
यहाँका स्थानीयले जग्गा उपलब्द गराउने गरेको र भारतको विभिन्न स्थानबाट पुग्ने व्यापारीहरुले लगानी गरेर गाजा खेती गर्ने गरेको श्रोतको दावी छ । यहाँ उत्पाद भएका अबैध गाजा विभिन्न रुट प्रयोग गरेर तस्करहरुले भारत सम्म पुर्याउने गरेका पाहिएको छ ।


