बागमती– सर्लाहीको बागमतीमा रहेको कर्मैया खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा पुनः हरिराम काफ्ले सर्वसम्मत भएका छन् ।
आईतबारको छलफलमा सहमति भएपछि निर्वाचन कमिटीले काफ्लेको अध्यक्षमा ९ सदस्य समिति घोषणा गरेको हो । काफ्लेको अध्यक्षतामा रहेको १५ सदस्य कार्यसमिति शनिवार कार्यकाल सम्पन्न गरी संस्थाको १८ औँ वार्षिक साधारण सभा पछि विघटन भएको थियो । लगतै निर्वाचन कमिटीले नेतृत्व चयनको लागि प्रकृया सुरु गरे पनि सहमति हुन नसक्दा आइतबारलाई निर्वाचन समय तय गरिएको थियो ।
पूर्व निर्धारित तालिका अनुसार आज घनिभूत छलफल पछि सर्वसम्मतीमै काफ्लेको अध्यक्षतामा ९ सदस्य समिति गठन गरेको निर्वाचन समिति संयोजक विष्णु दहालले जानकारी दिए । उहाँका अनुसार समितिको उपाध्यक्षमा भोजबहादुर राई, सचिवमा ब्यास दहाल, सह सचिवमा अजय महतो, कोषाध्यक्षमा शुसिला खरेल र बेनी कुमार प्रधान, गौरीमान श्रेष्ठ, प्रकाश खत्री, कालिबहादुर भट्टराई र भगवान सापकोटा सदस्यमा चयन भएका हुन ।
१५ सदस्य समिति गठन हुने प्रावधान अनुसार बाँकी ५ सदस्य आगामी संस्थाको पूर्ण बैठकले मनोनित गर्ने अध्यक्ष काफ्लेले जानकारी दिए । नव गठित समितिले आगामी तीन वर्ष कार्यभार सम्हाल्ने छ ।
यस्तै शनिबार सम्पन्न साधारण सभाले हरिप्रसाद पुडासैनीको अध्यक्षतामा रहेको ५ सदस्य संस्थाको लेखा समितिलाई आगामी कार्यकालको लागि दोहोर्याएको छ । यस समितिको सदस्यमा घनश्याम थापा, विनिता दहाल, शंकर बहादुर थापा र हेट बहादुर थापा रहेका छन् । मधेश प्रदेश सरकारको उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहाको प्रमुख आतिथ्यतामा संस्थाको १८ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो ।

