सर्लाहीको बसवरिया गाउँपालिका स्थित मनुसमारा क्षेत्रमा ऐतिहासिक वर्षा मापन भएको छ ।
बितेको २४ घण्टामा यहाँ २२६.४ मिलिमिटर वर्षा मापन भएको हो । लगातारको वर्षा पछि जिल्लाको जताततै जलमग्न भएको छ । भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजहरुमा समेत पानीको सतह बढेको छ । पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका विभिन्न स्थानमा बाढी र डुबान बनाउन सक्ने चिन्तामा स्थानीय छन् ।
जल मापन स्टेसनको तथ्याङ्क अनुसार जिल्ला सदरमुकाम मलङ्गवा क्षेत्रमा २१७.४ मिलिमिटर वर्षा मापन भएको छ । यो सँगै जिल्लामा स्थानीयलाई सुरक्षित रहन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना जारी गर्दै होचो स्थानमा रहेका र बागमती, लखन्देही, झिम, बाँके लगायत खोला किनारमा बसोवास गर्ने स्थानीयलाई सुरक्षित रहन सचेत गराएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै पानीको सतह बढे सँगै बागमती सिँचाइ ब्यारेजको ३६ वटै ढोका खोलिएको छ । आयोजनाका इन्जिनियर अभिमन्यु चौधरीका अनुसार सर्लाही र रौतहट दुवै तर्फको च्यानल नहर बन्द गरेर पानी खोला तर्फ खोलिएको हो । रौतहटको पधेरेदोभान स्थित बागमती खोलामा रहेको जल सतह मापन केन्द्रका अनुसार अहिले बागमती नदीमा पानीको सतह ५.०५७ मिटर पुगेको छ ।

