Tuesday, February 17, 2026

सर्लाहीको बागमतीमा अत्याधुनिक आँखा अस्पताल उद्घाटन(फाेटाे फिचर)

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमतीम अत्याधुनिक आँखा अस्पताल संचालनमा आएको छ ।

बिहीबार एक कार्यक्रमका बिच बागमती नगरपालिका–१२, कर्मैया स्वास्थ्य चौकी भवनमा आँखा अस्पताल उद्घाटन गरिएको हो । यस क्षेत्रका नागरिकलाई सुविधा पुर्याउने उद्देश्य सहित क्योर ब्लाइन्डनेस प्रोजेक्टको सहयोगमा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमतीको उद्घाटन गरिएको बागमती नगरपालिका स्वास्थ्य शाखा संयोजक पदम बहादुर रायमाझीले जानकारी दिए ।

यो सँगै अब यस क्षेत्रका नागरिकले आँखा उपचारको लागि काठमाडौँ लगायत ठुला सहर धाउनु नपर्ने उनको भनाई छ । एक करोड ३० लाख लागतमा संचालनमा आएको यस केन्द्रमा कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्ने देखी चस्मा बनाएर वितरण गर्ने तथा मोतिया बिन्दुको शल्यक्रिया गर्ने सम्मको सम्पूर्ण सुविधा प्रदान हुने सहयोगी संस्थाकी नेपाल डाइरेक्टर पुनम भण्डारीले बताइन ।

केन्द्र संचालनको लागि स्वास्थ्य चौकीले एउटा ओपिडि, एउटा औषधी तथा चस्मा पसल र एउटा शल्यक्रिया कोठा उपलब्द गराएको छ ।

यसैबीच आँखा उपचार केन्द्र उद्घाटनको अवसरमा भएको निशुल्क शिविरमा ३६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया समेत गरिएको छ । सम्पन्न शिविरमा ३६१ जना मोतियाबिन्दु भएका विमारीको निशुल्क शल्यक्रिया गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख रायमाझीले बताएका हुन । गत असोज २५ गतेबाट सुरु भएको शिविरमा बागमती सहित छिमेकी पालिका बरहथवा, छिमेकी जिल्ला रौतहटका चन्द्रपुर लगायतका स्थानका एक हजार ७०४ जनाले आँखा जाँच गराएका थिए ।

शिविरमा फेला परेका मोतिया विन्दुका बिमारीहरूको बुधबार र बिहीबार दुई दिन लगाएर बागमती नगरपालिका–१२, स्थित कर्मैया स्वास्थ्य चौकी भवनमा स्थापना गरिएको केन्द्रमा आँखाको शल्यक्रिया सम्पन्न गरिएको हो । मोतिया विन्दुले दुवै आँखा धमिलो भएको भन्दै गाउँमै निशुल्क सुविधा सम्पन्न सेवा पाउँदा खुसी लागेको ७५ वर्षीया बिबी कुमारी मोक्तानले सुनाइन ।

नेपाल आँखा कार्यक्रम अन्तरगत तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र बागमती र बागमती नगरपालिकाको संयुक्त आयोजनामा शिविर संचालन गरेको हो । शिविरमा तिलगंगा आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डाक्टर श्याम ब्यासको नेतृत्वमा २२ जना चिकित्सक टोली खटिएका नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक आनन्दमोहन झाले बताए ।

शिविर समापन तथा केन्द्र उद्घाटन समारोहमा बागमती नगरपालिकाका कार्यवाहक मेयर कृष्ण लामा, कार्यवाहक उपमेयर रुपा बम्जन, सामाजिक व्यक्तित्व भरत कुमार थापा, जनप्रतिनिधि लगायत स्थानीयको समेत आतिथ्यता रहेको थियो । यस पालिकाले विगत ९ वर्ष देखी निशुल्क शिविर आयोजना गरी नगरवासीलाई मोतियाबिन्दुको शल्यक्रिया सेवा प्रवाह गर्दै आइरहेको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles