बागमती–सर्लाहीको बागमतीमा तिलगङ्गा सर्जिकल आँखा केन्द्रको उद्घाटन गरिने भएको छ ।
बागमती नगरपालिका–१२, स्थित कर्मैया स्वास्थ्य चौकी भवनमा भोलि(बिहीबार) एक कार्यक्रमका बिच आँखा अस्पतालको उद्घाटनको तयारी भएको नगर स्वास्थ्य शाखाले जनाएको हो । तिलगंगा आँखा प्रतिष्ठानकै शाखाको रुपमा तिलगङ्गा सर्जिकल आँखा केन्द्र बागमतीको स्थापना गर्न लागेको नगर स्वास्थ्य शाखा सम्योजक पदम बहादुर रायमाझीले जानकार दिए ।
आँखा अस्पताल उद्घाटनको अवसरमा गत असोज २५ गतेबाट ५ दिने निशुल्क आँखा शिविर समेत आयोजना गरेको थियो । त्यसमा १७ सय ५ जनाको आँखाको चेक जाँच गरिएको पालिकाले जनाएको हो । त्यस मध्य ३६१ जनामा मोतिया बिन्दुको समस्या फेला परेको छ । उनीहरु सबै जनाको कर्मैया स्वास्थ्य चौकीमा स्थापना गरिएको तिलगङ्गा सर्जिकल आँखा केन्द्र बागमतीमा निशुल्क शल्यक्रिया गरिएको छ ।
नेपाल आँखा कार्यक्रम तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र बागमती र बागमती नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको शिविर व्यवस्थापक ओम बहादुर कार्कीले बताए । तिलगंगा आँखा अस्पतालको सेवा आफ्नै गाउँ ठाउँमै पाइने भएपछि बागमतीवासी भने दङ्ग परेका छन् ।
नगरपालिकाले आँखा अस्पताल उद्घाटन समारोहमा उपस्थित भै दिन समाजसेवी, बुद्दिजिवी तथा नगरवासीहरूमा आह्वान समेत गरेको छ ।

