मलङ्गवा–जिल्ला प्रशासन कार्यालय सर्लाहीले विश्वकर्मा पूजा मर्यादित भएर मनाउन आग्रह गरेको छ ।
मङ्गलबार विश्वकर्मा पूजाको पूर्व सन्ध्यामा सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले विश्वकर्मा पूजाको नाममा अवाञ्छित गतिविधि नगर्न चेतावनी दिएको हो । चाड पर्वको नाममा अरुलाई असर गर्ने गरी डिजेबाजा नबजाउन र अर्केष्ट्रा न नचाउन, सार्वजनिक स्थानमा हो हल्ला नगर्न, मादक पदार्थ तथा नसालु पदार्थ सेवन गरेर सवारी नचलाउन समेत आग्रह गरेको छ ।
सूचनालाई अटेर गरी कानुन विपरितका गतिविधि गर्ने जो केहीलाई कानुन अनुसार कारवाही हुने समेत प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए । अवाञ्छित गतिविधिबाट व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा हुने क्षतिको जिम्मा आयोजक स्वयम्को हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

