मलङ्गवा–जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक कुमार यादवलाइ प्रहरीले पक्राउ गरेको छ ।
अशोक राइ नेतृत्वको जसपाका मधेश प्रदेश अध्यक्ष समेत रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बुधबार बिहान पक्राउ गरेको हो । यस अगाडिको मुद्धामा अनुसन्धानको लागि यादवलाई नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले पहिलो खोजलाई जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय मलङ्गवामा रातको समयमा भुक्तानी भएको विषयमा गत असार १९ गते राति एसपी खड्का र यादवबीच फोनबाटै झगडा भएको थियो । उक्त झगडामा तँ तँ र म म’ सहितको गालिगलौचको अडियो बाहिरिएको थियो । घटना पछि पक्राउ पूर्जी जारी भएका यादव फरार रहेका थिए ।
यादव मङ्गलबार सदरमुकाम मलंगवामा भएको जेन–जी आन्दोलनका सहभागी भएका र सोही क्रममा पक्राउ परेका हुन । जेन–जीको नाममा भइरहेको आन्दोलन यादव स्वयंले नेतृत्व गरेर अराजकता निम्त्याउने प्रयास गरेकाले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
यादवलाइ पक्राउ गरिएको विरोधमा जसपाका नेता कार्यकर्ताले सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेका छन् । भने, मलङ्गवामा रहेको वंशल पेट्रोल पम्प नजिकैको प्रहरी बीटमा तोडफोड सहित आगजनी गरेका छन् । उनीहरुले आवश्यक कारबाहीका लागि प्रहरीले नियन्त्रणमा राखेका केही मोटरसाइकलहरु समेत जलाइ दिएका प्रहरीले जनाएको छ ।
यता जेनजी आन्दोलनका कारण तनाव ग्रस्त बनेको जिल्लाको अवस्था सामान्य रहेको नेपाली सेना कालिध्वज गण पाँचकुमारीका गणपति प्रमुख सेनानी उमेश खड्काले जानकारी दिए । सेनाको टोलीले गस्ती सुरु गरे सँगै अवस्था नियन्त्रणमा रहेको उनको भनाई छ ।

