सर्लाहीको बरहथवामा स्कुल बसको ढोकाबाट लडेर विद्यार्थीको मृत्यु भएको छ ।
बिहाबार बरहथवा नगरपालिका–८ टाँडी स्थित भित्री सडकमा बसको ढोकाबाट लडेर कायाकल्प एकेडेमीमा पढ्ने छात्रको मृत्यु भएको हो । प्रहरीका अनुसार स्कुल छुट्टी भएपछि घर फर्कँदै गरेका धन्कौल गाउँपालिका–३, हरकठवाका निशार शेखका १३ वर्षका छोरा फैजान शेख बसको ढोकाबाट लडेर गम्भिर घाइते भएका थिए ।
घाईते छात्रलाई उपचारको लागि वीरगन्ज पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । आफै पढ्ने विद्यालयको ग १ ख ९५६८ नम्बरको बसबाट लडेका बालकलाई बरहथवामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगन्ज रेफर गरिएको थियो ।
प्रहरीले घटनामा संलग्न बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । चालक बागमती नगरपालिका–१०, निवासी २१ वर्षका राज कुमार यादवलाई घटना लगतै प्रहरीले नियन्त्रणमा लिएको हो ।
यस्तै गत साउन १२ गते मात्र जिल्लाको ब्रह्मपुरीमा पनि यसैगरी स्कुल बसको ढोकाबाट खसेर ५ वर्षकी बालिकाको ज्यान गएको थियो ।

