बागमती–विद्यार्थीहरुलाई जीवन उपयोगी सीप सिकाउने उद्देश्य सहित बागमतीमा सुरु भएको १० दिवसीय कार्यशाला सम्पन्न भएको छ ।
मङ्गलबार एक औपचारिक कार्यक्रमका बिच ‘एक विद्यार्थी एक सीप कार्यशाला’ सम्पन्न गरिएको हो । यही साउन १८ गतेबाट सुरु भएको कार्यशाला सहभागी छात्रछात्राहरूलाई प्रमाणपत्र वितरण गरी सम्पन्न गरिएको बागमती नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मीन प्रसाद उपाध्यायले जानकारी दिए ।
कार्यशालामा नगर भित्रका आधारभूत र माध्यामिक गरी ७ विद्यालयका ३५ जनाका दरले २४५ जना छात्रछात्रा सहभागि भएका थिए । उनीहरूलाई उद्घोषण तथा सार्वजनिक भाषण, चित्रकला, वाइरिङ तथा रिपेयरिङ, हस्तलेखन कला, कविता लेखन तथा वाचन र विज्ञान प्रयोगशाला सम्बन्धी ६ विधामा प्रशिक्षण प्रदान गरिएको थियो ।
सहभागी छात्रछात्राहरूले समापन समारोहमा बोल्दै तालिम निकै उपयोगी भएको बताए । यस १० दिनमा सिकेको सीपले भोलिको दिनमा स्वरोजगार बनी आत्मनिर्भर हुन समेत मद्दत पुग्ने उनीहरूको अपेक्षा थियो । समापन कार्यक्रममा सहभागी छात्रछात्राहरूले आफूले सिकेको सीप तथा कला समेत प्रस्तुत गरे ।वक्तहरुले यस्ता कार्यक्रमहरुले बालबालिकाहरुमा अन्तरनिहित क्षमता प्रस्फुटन गराउने भन्दै यसलाई थप विस्तार गर्नुपर्नेमा जोड समेत दिए ।
बागमती नगरपालिका सामाजिक विकास शाखा संयोजक राजकुमार बिश्वकर्माको अध्यक्षतामा सम्पन्न समारोहमा नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मीन प्रसाद उपाध्याय, बागमती नगरपालिका–२, धरहरामा रहेको जनबाल कल्याण माध्यामिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक बहादुर बोहोरा, प्रधानाध्यापक प्रकाश बहादुर जिम्बा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा ७ वटै विद्यालयका प्रधानाध्यापकहरुको समेत आतिथ्यता रहेको कार्यक्रम सञ्चालिका लिला बस्नेतले बताइन । यस नगरपालिकाले वर्षे बिदाको समयमा विगत तीन वर्ष देखी समर क्याम्प आयोजना गरी विभिन्न सीप युक्त तालिम आयोजना गर्दै आएको छ । तालिममा प्रशिक्षकको रुपमा उद्घोषण तथा सार्वजनिक भाषणमा श्रवण थापा, कविता वाचन तथा लेखनमा कुमार दहाल(कुशुम), हस्तलेखनमा रमेश खनाल, वाइरिङ तथा रिपेयरिङ मुक्तिराम दहाल, चित्रकलामा नारायण रेग्मी, विज्ञान प्रयोगशाला विभोद लामिछाने रहेका थिए ।

