सर्लाही–अमेरिका पठाउने प्रलोभन देखाई विद्यार्थीहरूसँग लाखौँ रकम ठगी गर्ने स्ववियु सभापति सहित तीन जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले साउन ७ गते जारी गरेको विज्ञप्ति अनुसार ठगी कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काभ्रे बनेपाका २३ वर्षीय विशाल घिमिरे, सर्लाही लालबन्दीका २५ वर्षीय समीर सिंह र सर्लाही कबिलासीका २६ वर्षीय अशोक कुमार यादव रहेका छन्
पक्राउ परका मध्य २५ वर्षीय समीर सिंह सर्लाहीको लालबन्दी नगरपालिका स्थित जनज्योति बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन । उनीहरू तीनै जनालाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखेको छ ।
प्रहरीका अनुसार यस गिरोहले अमेरिका जाने प्रयोजनका लागि भिसा प्रक्रियामा रहेका विद्यार्थीहरूलाई लक्षित गरी ठगी गर्ने गरेका थिए । उनीहरूले भिसाका लागि बैङ्क ब्यालेन्स देखाउन एक करोड बीस लाख आवश्यक पर्ने भन्दै पीडितहरू सँग पैसा लिएका थिए । आफ्नो खातामा जम्मा भएपछि रकम फिर्ता नगरी अन्य व्यक्तिको खातामा रकमान्तर गरी सम्पर्क विहीन हुने गरेको अनुसन्धानबाट खुलेको छ ।
नेकपा एमाले निकट अनेरास्ववियुका सकृय विद्यार्थी नेता उनी संयुक्त प्यानलबाट सभापतिमा निर्वाचित भएका थिए । गत वैशाख १८ गते विशाल घिमिरे नाम गरेका एक व्यक्तिलाई विद्यार्थी भिसामा अमेरिका पठाइदिन्छु भनी ६१ लाख ठगी गरेको भन्दै उनीहरु विरुद्ध प्रहरीमा जाहेरी परेको थियो । सोही जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले गिरोह नै संलग्न रहेको तथ्य फेला पारेको हो ।
पीडितको उजुरीका आधारमा प्रहरीले मिति २०८१ साउन ६ गते उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी गरिरहेको र थप अनुसन्धान जारी रहेको जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारी र अध्ययनका नाममा हुने ठगीका घटनाहरू बढ्दै गएका छन् ।

