बागमती–गएरातीबाट सर्लाहीका आसपासका क्षेत्रमा वर्षे झरी सुरु भएको छ ।
लामो समयको खडेरी पछि साउनमा आएर झरी सुरु भएको हो । यस वर्ष असार खडेरीमै बित्यो । पर्याप्त वर्षा नभएपछि असारे खेती धान रोपाइ समेत गर्न नपाएको स्थानीय किसानहरूको भनाइ छ । गएरातीबाट झरी सुरु भएसँगै स्थानीयले राहत महसुस गरेका छन । ढिलै भएपनि वर्षा सुरु भएको भन्दै किसानहरू धान रोपाइमा जुटेका छन ।
मौसम पूर्वानुमान महाशाखाले आज, भोलि र पर्सि तीन दिन तराई मधेशमा भारी वर्षा हुने अनुमान गरेको छ । सोही अनुसार बाढी र डुबानको जोखिन हुने भएकाले होचो ठाउँमा रहेका बस्ती र नदी तटीय क्षेत्रमा सचेत रहन आग्रह समेत गरेको छ । स्थानीय तह तथा सरोकारवाला निकायलाई समेत सम्भावित जोखिमको आँकलन सहित तयारी अवस्थामा रहन भनिएको छ ।
यस वर्ष असार खडेरीमा बित्दा जिल्लामा धान रोपाइ समेत प्रभावित बन्यो । साउनको पहिलो हप्ता लागिसक्दा जिल्लामा ४० प्रतिशत हाराहारीमा मात्र रोपाइ भएको छ । जिल्लाको उत्तरी र दक्षिणी क्षेत्रका किसानहरू पानीका आशमा बसी रहेका छन । केही स्थानमा डिप बोरिङबाट सिँचाइ गरेर सेमत धान रोपाइ भएको छन । यसरी धान रोप्न र रोपोमा पानी पटाउन समस्या भएका उनीहरूको गुनासो छ ।
सर्लाहीमा बागमती सहित साना सिँचाइ आयोजनाहरू झिम, मनुसमारा, सोती, हिरापुर, सुदामा लगायतको ब्यारेजबाट केही भूभागमा पानी सिँचाइको सुविधा पुग्ने गरेको छ । तर, यो पर्याप्त नरहेको किसानहरूको भनाइ छ । जिल्लाको कुल क्षेत्रफलको ४५ प्रतिशत भूभागमा अझैपनि सिँचाइको राम्रो प्रबन्ध छैन । यहाँका किसान आकाशे पानी तथा डिप बोरिङको भरमा खेती गर्न बाध्य छन ।

