लालबन्दी–सर्लाहीको लालबन्दीमा साइकल यात्रीलाई ठक्कर दिने टिफरमा स्थानीयले आगजनी गरेका छन ।
बुधबार लालबन्दी नगरपालिका–५, मेजरगंज स्थित भित्री सडक खण्डमा साइकल यात्रीलाई ठक्कर दिएको भन्दै आक्रोशित स्थानीयले ना २ ख ५०१ नम्बरको टिफरमा आगो लगाइदिएका हुन । आगलागीबाट टिफरमा ठुलो क्षति पुगेको प्रहरीले जनाएको छ । आगो प्रहरी, हरिवन र मलङ्गवा नगरपालिकाबाट पुगेको दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।
इलाका प्रहरी कार्यालय लालबन्दीका अनुसार साँझ जब्दीबाट लालबन्दी आँउदै गरेको टिफरले साइकल यात्री कबिलासी नगरपालिका–८, अगर्वा बस्ने अन्दाजी २० वर्षका सचिन साहलाई ठक्कर दिएको थियो । टिफरको ठक्करबाट घाइते भएका साहको अवस्था गम्भिर रहेको र प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
दुर्घटना लगतै टिफर चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

