नेपाल तामाङ घेदुङ मधेश प्रदेशको दोस्रो अधिवेशनको तयारी पुरा भएको छ ।
अधिवेशन शनिबार हरिवन नगरपालिका स्थित सम्राट होटल तथा पार्टी प्यालेसमा आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । मधेश प्रदेशका ८ वटै जिल्लाबाट प्रतिनिधि सहभागि हुने नेपाल तामाङ घेदुङ मधेश प्रदेश समिति अध्यक्ष यमलाल गोलेले जानकारी दिए । यस अधिवेशनले घेदुङको आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन गर्ने आयोजकले जनाएको हो ।
अधिवेशनमा जिल्ला तथा पालिका कमिटीको गरी एक सय ५० जना हाराहारीमा प्रतिनिधि सहभागी गराउने तयारी रहेको आयोजकले जनाएको हो । यस प्रदेशमा घेदुङको २९ वटा पालिका कमिटी रहेको छ । घेदुङको सङ्घीय अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न गरिने अध्यक्ष गोलेले जानकारी दिए । लगतै बन्दसत्र सुरु गरिने बताइएको छ ।
घेदुङको पहिलो अधिवेशन मतदान प्रकृयाबाट सम्पन्न भएको भन्दै, यस पटक सर्वसहमतीबाट नेतृत्व चयन गर्ने हदैसम्मको प्रयास गरिने उनले जानकारी दिए । सम्मेलनमा पत्रकारहरूले नेतृत्वको भागबन्डा दलगत हिसाबले हुने गरेको जिज्ञासामा प्रदेश अध्यक्ष गोलेले यस पटक त्यसबाट घेदुङ टाढै रहने दावी गरे । ठुलो रकम खर्च हुने अधिवेशनको लागि आपसमा सहयोग सङ्कलन गरिने उनले बताए ।
अधिवेशनमा अन्य विशिष्ट व्यक्तिहरूको समेत सहभागिता रहने आयोजकले जनाएको हो ।

